काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। (आज) मंगलबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा कालीकास्थानस्थित अमृतभोग, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो।

सभामा कम्पनीका अध्यक्ष मुलले सलिकोको समग्र व्यवसायिक अवस्था, उपलब्धि तथा भावी योजनाबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराएका थिए । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले खुद नाफा ५० करोड २ लाख ४८ हजार ५ सय २३ रुपैयाँ आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले बढी हो।

त्यसैगरी, कम्पनीको दाबी भुक्तानी पनि उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३२ लाख ९२ हजार ६ सय १४ रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले चालु आवमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २ सय ५५ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ। कम्पनीले आगामी वर्षहरूमा पनि ग्राहकलाई अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सञ्चालक समितिको सिफारिसअनुसार शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।

सभामा उपस्थित शेयरधनीहरूले लिखित तथा मौखिक रूपमा आफ्ना सुझाव र धारणा राखेका थिए, जसलाई कम्पनी व्यवस्थापनले सकारात्मक रूपमा ग्रहण गरेको जनाएको छ।