काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि लागू हुने ब्याजदरमा थप कटौती गरेका छन् । बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहे पनि कर्जा माग कमजोर रहँदा ब्याजदर क्रमशः घट्दै गएको हो ।

बैंकहरूले हरेक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर विवरण सार्वजनिक गर्दै आएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेका विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिइने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशतले घटेको छ । पुस महिनामा औसत ४.८३४ प्रतिशत रहेको अधिकतम ब्याजदर माघमा घटेर ४.६८४५ प्रतिशतमा सीमित भएको हो।

यस्तै माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतमै कायम रहेको छ । यस अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा उच्च ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

पुसको तुलनामा माघमा ११ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ वटा बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । एउटा बैंकले भने ब्याजदरमा सामान्य वृद्धि गरेको छ । धेरै बैंकले ब्याजदर घटाएकाले समग्र औसत दर घट्न पुगेको हो ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर :

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् भने प्राइम कमर्सियल बैंकले ब्याजदरमा सामान्य वृद्धि गरेको छ ।

यस्तै नेपाल बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ब्याजदर यथावत् राखेका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार हुन नसक्दा ब्याजदरमा दबाब परेको देखिन्छ । यसैबीच, नेपाल राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता व्यवस्थापन गर्दै आएको छ ।