काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९० प्रतिशतले घटेको हो ।जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो संख्यामा बीमा दाबी दाबी परेको कारण कम्पनीको नाफा प्रभावित भएको हो।

पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन २४.५० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७८ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८५ करोड ७३ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्पेसल रिजर्भमा १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङमा ३० करोड ८४ लाख रहेको छ । अन्य इक्विटीमा ४२ करोड ९२ लाख रहेको छ ।

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ९१ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ३० करोड १५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ४१ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६७ पैसा रहेको छ । यस अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा रहेको छ ।