काठमाडौँ। जहाँ इच्छा त्यहाँ उपाय, आत्मनिर्भर बन्ने दृढ इच्छाशक्ति बोकेकी मकवानपुरको इन्द्रसरोबरकी सीता बलन वाईवा हाल सिटिजन लाइफ इन्स्योरेन्समा सफल अभिकर्ताको रूपमा कार्यरत छिन्।
गाउँमा घास दाउरा गरेर बीमा अभिकर्ताको यात्रा सुरु गरेकी सीताले अनेक संघर्षहरू पार गर्दै आज सिटिजन लाइफको स्वयम्भु शाखामा एजेन्सी म्यानेजरको रूपमा आफुलाई स्थापित गरेकी छिन्।
सिता आज अरु महिलाका लागि पनि प्रेरणाको स्रोत बनेकी छिन्। उनी सन् २०२५ को अप्रिल महिनामा हरेक दिन दुई बीमा जारी गरी मिसन वन डे टु पोलिसीको लक्ष्य पुरा गर्न सफल समेत भइन् ।
ग्रामीण भेगमा पुगेर सीताले बीमाको महत्व बुझाउँदै आएकी छन्। बीमा क्षेत्रमा उनले गरिरहेको योगदान प्रशंसनीय रहेको उनका सहकर्मीहरूले समेत बताउँछन्।
बीमा क्षेत्रमा प्रवेश
सिताको बीमा क्षेत्रमा प्रवेश गर्ने कुनै पूर्वयोजना भने थिएन। उनलाई सुरुमा बीमाको बारेमा खासै जानकारी थिएन। गाउँकै एक काकामार्फत उनी बीमा क्षेत्रमा जोडिन पुगिन्।
काकाले बीमा गराएका लिडरमार्फत सितासम्म प्रस्ताव आइपुग्यो। उनकी म्यानेजरले एक महिनाभित्र १०१ वटा पोलिसी जारी गर्ने लक्ष्य लिएकी थिइन्। त्यस लक्ष्य पूरा गर्ने क्रममा बीमित खोज्दै जाँदा सीता भेटिइन्।
त्यहाँबाट उनी सिटिजन लाइफसँग जोडिइन् र अभिकर्ताको रूपमा आफ्नो यात्रा प्रारम्भ गरिन्।
उनी भन्छिन्, “जब अभिकर्ता पेसाको स्वरूप बुझ्दै गएँ, यसमा आफ्नो मेहनतअनुसार आम्दानी गर्न सकिने, समयको कठोर बन्धन नहुने र आत्मनिर्भर बन्न सकिने अवसर देखेँ।”
सिटिजन लाइफ नै किन रोजिन् ?
सिताले विशेष रूपमा सिटिजन लाइफ इन्स्योरेन्स रोज्नुका पछाडि केही कारण छन्। उनका अनुसार कम्पनीले देश–विदेशबाट तालिम (ट्रेनिङ) उपलब्ध गराउँछ। टिमवर्क राम्रो छ, सकारात्मक वातावरण छ र योजनाहरू सरल छन्।
“जस्तोसुकै कम पढेका बीमितले पनि बुझ्ने राइडरहरू छन्,” उनी बताउँछिन्।
विशेष गरी ‘सिटिजन शुभारम्भ योजना’ उनले राम्रो बजार पाएको योजना हो। सस्तो प्रिमियम, धेरै सुविधा र सजिलै बुझाउन सकिने संरचना भएकाले उनले आफुलाई यो योजना मनपर्ने गरेको पनि बताइन्।
बीमाको महत्व बुझाउन आवश्यक
सिताका अनुसार अभिकर्ता पेशा केवल कमाइको माध्यम होइन, यो व्यक्तिको क्षमताको परीक्षा पनि हो। यहाँ निश्चित टाइमटेबल हुँदैन, कसरी र कहाँबाट ग्राहक भेट्ने भन्ने कुरा आफ्नै सीप, नेटवर्क र लगनशीलतामा भर पर्छ।
तर यो त्यति सजिलो पनि छैन। बीमाको महत्व बुझाउन अझै चुनौती छ। कतिपयले बीमा राम्रोसँग बुझेका छन्, तर धेरैलाई अझै भ्रम छ।
उनको अनुभवमा, बीमालाई नकारात्मक रूपमा व्याख्या गर्नेहरू प्रायः ती हुन्, जसले एक–दुई किस्ता तिरेर बीचमै छोडिदिन्छन् वा कार्यालयसँग सम्पर्क तोडिदिन्छन्।
“बीमाको महत्व बुझ्नेहरूले भने आफ्नो पोलिसीमा के–के सुविधा छन् भन्ने थाहा पाउँछन् र सही समयमा लाभ उठाइरहेका हुन्छन्,” उनी भन्छिन्।
किन आवश्यक छ बीमा ?
सिताको बुझाइमा बीमा धनीका लागि भन्दा पनि सीमित आयस्रोत भएका परिवारका लागि झनै आवश्यक छ।
उनले भनिन्, “धनी मानिसले १०/२० लाख रुपैयाँ आपत परे पनि तुरुन्तै व्यवस्थापन गर्न सक्छन् तर एउटा सामान्य परिवारका लागि विपत्तीको समयमा त्यत्रो रकम जुटाउनु धेरै ठूलो कुरा हुन्छ।”
सानो सानो रकम बचत गर्दै बीमा गर्दा भविष्यमा ठूलो आर्थिक सुरक्षा प्राप्त गर्न सकिन्छ। बीमा मार्फत आज थोरै रकम जम्मा गरेर पनि भविष्यमा ३०–४० लाख रुपैयाँ बराबरको सुरक्षा प्राप्त गर्न सकिने सुविधा बीमाले दिने भएकाले यो सबैका लागि आवश्यक छ।
उनले भनिन्, “रोग, दुर्घटना वा विपत्ती कसैलाई पनि आउन सक्छ—‘तपाईलाई आउने मलाई नआउने’ भन्ने हुँदैन। त्यसैले बीमामार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्नु सबैका लागि आवश्यक छ।”
बीमा क्षेत्रमा चुनौती
हरेक क्षेत्र जस्तै बीमा क्षेत्रका पनि आफ्नै चुनौती छन्। उनले बताइन् कि अहिले बीमितभन्दा अभिकर्ता बढी छन् जसले अस्वस्थ प्रतिस्पर्धा समेत सिर्जना गर्छ।
कतिपय अभिकर्ताहरूले आफैं सक्रिय रूपमा काम नगर्ने तर अरूले ल्याएको व्यवसायमा बाधा पुर्याउने प्रवृत्ति देखाएको सिताले बताइन्। लाइसेन्स लिएर घरमै बस्ने तर सक्रिय एजेन्टको काममा बाधा सिर्जना गर्ने अवस्थाले समस्या थपिएको उनको अनुभव छ।
“म अभिकर्ता हुँ भन्ने तर काम पनि नगर्ने, अरूलाई पनि गर्न नदिने प्रवृत्ति ठीक होइन। कतिपय लाइसेन्स लिएका अभिकर्ताले नै बीमाको बारेमा भ्रम फैलाउने, काम गर्ने अभिकर्तालाई बाधा पुर्याउने गरेका छन्, जुन कुरा यस क्षेत्रको चुनौतीको रूपमा रहेको छ,” उनी स्पष्ट पार्छिन्।
लक्ष्य, यात्रा र उपलब्धि
सिताको सफलताको आधार लक्ष्यप्रतिको स्पष्टता र निरन्तरता हो। उनले आफूलाई अनुशासनमा राखेर काम गर्ने नीति अपनाइन्। “बर्षभरी १००–२०० पोलिसी ल्याए पनि नियममा बसेर गरियो भने त्यो छुट्टै उपलब्धि हुन्छ,” उनी भन्छिन्।
लक्ष्य लिइसकेपछि उनले विश्राम गरिनन्। खोला, नाला, डाँडा–काँडा नभनी बीमितको घर–घर पुगिन्। ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म उनले यात्रा गरिन्।
उनी दृढ स्वरमा भन्छिन्, “मैले गर्नुपर्छ भनेर टार्गेट लिइसकेपछि पछि फर्किने विकल्प राखिनँ,”
महिलाका लागि अवसर
सिताको अनुभवमा अभिकर्ता पेशा महिलाहरूका लागि झनै उपयुक्त छ। उनी भन्छिन्, “हामी महिलाहरूलाई आत्मनिर्भर बन्न यो पेशा सहज छ,”
समयको लचिलोपन, आफ्नो नेटवर्क प्रयोग गर्न सकिने अवस्था र सम्बन्ध निर्माण गर्ने क्षमता महिलाहरूमा बलियो हुने भएकाले बीमा क्षेत्रमा सफल हुन सकिने उनको विश्वास छ।
आत्मनिर्भरता केवल आर्थिक पक्षमा सीमित छैन। यसले आत्मविश्वास, सामाजिक पहिचान र नेतृत्व क्षमता पनि विकास गर्छ। यो एक किसिमको धर्मको काम पनि हो।
भावी योजना
सिताको दीर्घकालीन योजना केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन। उनी बीमाबारे व्यापक जनचेतना फैलाउन चाहन्छिन्। उनको विश्वास छ—जीवनमा धेरै सम्बन्धहरूले साथ छोड्न सक्छन्, तर बीमाले साथ छोड्दैन। कठिन घडीमा आर्थिक सुरक्षा दिने माध्यमका रूपमा बीमा अपरिहार्य छ। त्यसैले उनी गाउँ–गाउँमा पुगेर बीमाको महत्व बुझाउन चाहन्छिन्। साथै, आफैंजस्तै महिला दिदीबहिनी र केही गर्नुपर्छ भन्ने भावना बोकेका युवालाई अभिकर्ता बन्न प्रेरित गर्न चाहन्छिन्।
सिता बलन वाईवाको यात्रा केवल एजेन्सी म्यानेजरको पदसम्म सीमित कथा होइन। यो आत्मविश्वास, लक्ष्यप्रतिको दृढता र सामाजिक जिम्मेवारीको कथा हो। बीमाबारे ज्ञान नभएको अवस्थाबाट सुरु गरेर सयौँ परिवारको आर्थिक सुरक्षामा जोडिन सफल उनी आज सबैको प्रेरणाको स्रोत बनेकी छन्।







