काठमाडौँ । आइपीओ निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २७ गते बिहान १०ः३० बजे नागपोखरीस्थित अरण्य बुटिक होटलमा बस्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पेश गरिनेछ। यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, साथै सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेण्डा पनि सभामा प्रस्तुत हुनेछन्।

विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषय समेत समावेश गरिएको छ। यसैबीच, कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले कुल ६१ करोड २५ लाख रुपैयाँ बराबरको ६१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको जनाएको छ।