काठमाडौँ। आज प्रकाशित भएको सूर्यज्योति लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडको वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा बीमाशुल्क आर्जनमा वृद्धि गरेसँगै आफ्नो नाफा पनि सुधार गर्न सफल भएको छ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार यस अवधिमा ८ अर्ब ६१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रहेको ७ अर्ब ५१ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो।

बीमाशुल्क संकलनमा भएको वृद्धिले कम्पनीको नाफामा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ। समीक्षा अवधिसम्म कम्पनीले ३३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २९ करोड ५७ लाख रुपैयाँको तुलनामा करिब ११.६७ प्रतिशतले बढी हो।

त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि वृद्धि भएर ११ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आम्दानी १० अर्ब ४८ करोड रुपैयाँ थियो। यस अवधिमा दाबी भुक्तानी पनि बढेको छ।  अघिल्लो वर्ष ८ अर्ब ३८ करोड रुपैयाँ रहेको भुक्तानी यस वर्ष ९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

कुल खर्चतर्फ पनि वृद्धि देखिएको छ। अघिल्लो वर्ष ९ अर्ब ९१ करोड रुपैयाँ रहेको खर्च बढेर अहिले ११ अर्ब २ करोड रुपैयाँ पुगेको छ। कम्पनीले समीक्षा अवधिमा कुल १ लाख ९१ हजार बीमा पोलिसी जारी गरेको जनाएको छ।

यस्तै, जीवन बीमा कोषको आकार पनि विस्तार भएको छ। अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँ रहेको कोष बढेर हाल ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। वित्तीय सूचकतर्फ हेर्दा, कम्पनीको प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०.६४ गुणा तथा प्रतिसेयर नेटवर्थ १२५.४९ रुपैयाँ कायम भएको छ।