काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पत्तिको सुरक्षा र संरक्षणमा सरकार सतर्क रहेको बताएकी छिन् ।

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा उनले निजी क्षेत्र तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै यस क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गरिन् ।

उनका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार, लगानी प्रवर्द्धन, नियमन तथा सहजीकरणका साथै औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आवश्यक नीति र कार्यक्रम तयार गरिनेछ ।

मन्त्री यादवले तयार भएका नीति तथा योजनालाई सम्बन्धित मन्त्रालय, सरकारी निकाय, निजी क्षेत्र र दातृ संस्थासँग समन्वय गरी कार्यान्वयन गरिने बताइन् । साथै, कार्यक्रमहरूको नियमित अनुगमन र मूल्यांकन गर्दै सुधारसहित अघि बढाइने उनको भनाइ छ ।