काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम आर्थिक र राजनीतिक पुनर्संरचना गर्ने गरी आएको बताएका छन्।
डिजिटल सुशासनका लागि पनि नीति कार्यक्रम महत्त्वपूर्ण भएको उनले बताए।
सुशासनलाई पहिलो पटक मापन गर्न सकिने गरी परिभाषित गरिएको उनको भनाइ छ। ‘कहिले के गरेर? कसरी आउँछ भन्ने गरी नीति कार्यक्रम आएको छ। जेठ १५ गते हामी रकम नै तोक्ने छौं,’ उनले भने।
पुराना राजनीतिक दलले बजेटमार्फत राजनीतिक दोहन गरेको आरोप लगाए। अहिलेको नीतिले दलको बिस्तार गर्नेभन्दा पनि राज्य बलियो बनाउने गरी अघि बढेको उनको भनाइ छ। सरकारको स्रोत बाहिर गएर खर्बौँ रकम जोड्ने लक्ष्य रहेको वाग्लेले दाबी गरे।
वाग्ले बोलिरहँदा नेपाली कांग्रेस बाहेकका प्रतिपक्षी दलले भने प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथि जवाफ दिन नआएको विरोधमा संसद् बैठक बहिष्कार गरेका थिए।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेका हुन्। शाह उपस्थिति हुन विपक्षी दलले पटक पटक आग्रह गरे पनि सत्ता पक्ष प्रधानमन्त्रीलाई उपस्थित गराउन तयार भएन। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका हुन्।






