काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कार्यालयहरूमा अत्यावश्यक बाहेक नयाँ सामान खरिद नगर्न निर्देशन दिएको छ ।
कार्यालयले बिहीबार परिपत्र जारी गर्दै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायहरूलाई मितव्ययिता अपनाउन र कार्यालयमा मौज्दात रहेका सामग्रीकै अधिकतम उपयोग गर्न आग्रह गरेको हो ।
परिपत्रमा सरकारी कार्यालयहरूमा कार्यरत प्रमुख निजामती पदाधिकारी तथा कर्मचारीहरूले कुर्सी, टेबुल, सोफा, कम्प्युटर, मोबाइल, ल्यापटपलगायतका सामग्री प्रयोगयोग्य हुँदाहुँदै नयाँ खरिद गर्ने प्रवृत्ति बढेको उल्लेख गरिएको छ । यस्ता कार्यले सार्वजनिक खर्चमा अनावश्यक भार थपिएको भन्दै प्रधानमन्त्री कार्यालयले त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ ।
कार्यालयका अनुसार मर्मत गर्न मिल्ने सामग्री मर्मत गरेर पुनः प्रयोग गर्नुपर्नेछ । साथै नयाँ सामग्री खरिद नगरी कार्यालयमा मौज्दात रहेका सामग्रीको उपयोग गर्न र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन दिइएको छ ।
परिपत्रमा आवश्यकताभन्दा बढी खर्च गर्दा राज्यकोषमा भार परेको र त्यसबारे व्यापक गुनासा आएको उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्च नियन्त्रण तथा मितव्ययिता कायम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।






