काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले न्यायपालिका आफ्नो मूल भूमिकाभन्दा बाहिर जान नहुने बताउँदै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कडा टिप्पणी गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले न्यायाधीशहरूको मुख्य जिम्मेवारी न्याय सम्पादन भएको उल्लेख गर्दै त्यसबाट विचलित हुने गतिविधिप्रति चिन्ता व्यक्त गरिन्। न्यायिक निकायले राजनीतिक उद्देश्यतर्फ झुकाव देखाए न्याय प्रणाली नै कमजोर बन्ने उनको भनाइ थियो।

सांसद बाँस्कोटाले केही निर्णय र अभिव्यक्तिप्रति असहमति जनाउँदै अदालतले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्ने धारणा राखिन्। विशेषगरी दरपीठ भएका रिट दर्ता गर्न दिएको आदेश र सार्वजनिक अभिव्यक्तिलाई लिएर उनले प्रश्न उठाइन्।

उनले न्यायपालिका र राजनीतिक क्षेत्रबीचको सीमारेखा स्पष्ट हुनुपर्ने बताउँदै यदि राजनीतिक भूमिकामा आउन चाहने हो भने खुला रूपमा आउन चुनौती दिइन्।