काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीका अवसर विस्तार गरी युवालाई देशभित्रै कामको वातावरण उपलब्ध गराउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनेसँगै देशभित्रै रोजगारी सिर्जनामा सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे।
उनका अनुसार सिपयुक्त जनशक्ति उत्पादनका लागि विभिन्न रोजगारमूलक तालिम सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ। उनले युवालाई स्वदेशमै अवसर दिन सरकार प्रतिबद्ध रहेको दोहोर्याए।
मन्त्री यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित ४० हजारभन्दा बढी ठगी उजुरीहरूलाई छिट्टै वर्गीकरण गरी निश्चित समयसीमा भित्र फछ्र्यौट गर्ने घोषणा गरे।
उनले आगामी साउनदेखि मन्त्रालयका सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाइने बताए।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विदेशमा समस्यामा परेका, घाइते भएका वा उद्धारको पर्खाइमा रहेका श्रमिकहरूको लागि राहत तथा उद्धार कार्य निरन्तर भइरहेको बताए।
मन्त्री यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि कडा नीति अपनाइने र तत्काल तथा दीर्घकालीन दुवै योजनासहित मन्त्रालय अघि बढिरहेको पनि जानकारी दिए।






