काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्जीवन बीमा कम्पनीहरुको लगानीमा धेरै नै वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा पाँच अर्ब ४४ करोड ६५ लाख रुपैयाँक शेयर बजारमा लगानी गरेका छन् ।
बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७४ प्रतिशत शेयर खरिद गरी लगानीको दायरा बृद्धि गर्न सफल भएका छन् । कम्पनीहरुले गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा चार अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी पुँजी बजारमा गरेका थिए ।
समीक्षा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा सबैभन्दा बढी लगानी गरेका छन् ।
राष्ट्रिय बीमा कम्पनीले दोस्रो बजारमा सूचीकृत विभिन्न कम्पनीहरुको साधारण शेयरमा ७९ करोड ४१ रुपैयाँ लगानी गरेका छन् । बजारको अनुकुलतामा कम्पनीले विभिन्न सेक्टरका उच्च प्रतिफल दिने कम्पनीहरुको शेयर खरिद गर्दै कम्पनीको लगानीको दायरा बृद्धि गरेको छ ।
साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७७ करोड ३६ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको साधारण शेयर खरिद गरेको छ । कम्पनीले गत आवको तुलनामा शेयर बजारको लगानी ५४.३० प्रतिशतले बढाएको छ ।
यस्तै, समीक्षा अवधिमा नेकोे इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५८ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ४९ करोड ७२ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ, युनाइटेड अजोडले ४७ करोड १५ लाख रुपैयाँको सूचीकृत कम्पनीहरुको शेयर खरिद गरेका छन् ।
यता, नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख र एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।







