जनकपुरधाम । मिटरब्याज पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले सो जानकारी दिएको हो।

आन्दोलनका मिथिला कमान्ड इन्चार्ज मोहन महतोका अनुसार आगामी मंगलबार मिथिला र भोजपुरा कमान्डको संयुक्त नेतृत्वमा शान्तिपूर्ण रूपमा अदालत घेराउ कार्यक्रम गरिनेछ। उनले पीडितहरू १२ दिनदेखि निरन्तर आन्दोलनमा रहे पनि राज्य पक्षले मागप्रति गम्भीरता नदेखाएको आरोप लगाए।

महतोले भने, ‘हामी १२ दिनदेखि आन्दोलनमा छौँ तर अहिलेसम्म पीडितका कुरा सुनिएको छैन। मिटरब्याज धनीसँग भएको छलफल पनि निष्कर्षविहीन रह्यो। त्यसैले जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने कार्यक्रम तय गरेका छौँ।’

उनका अनुसार आन्दोलनमा मधेस प्रदेशभरिबाट करिब ८ देखि १० हजार पीडित सहभागी हुने अपेक्षा गरिएको छ।