काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर आजदेखि विक्री खुला गर्दैछ । कम्पनीले आज साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २२ गते बुकक्लोज गरेको थियो । जस अनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्नेछ ।






