झरना कडेल ,आर्थिक भ्वाइस संबाददाता
‘सबै राम्रो कुरा सबैलाई राम्रो र सबै नराम्रो कुराहरु सबैका लागि नराम्रो नहुँदा रहेछन् ।,कोरोनाले धेरैको उठिबास लगायो , धेरैको अवस्था जटिल बन्दै गयो तर कसैका लागि उद्योग खोल्ने प्रेरणा बन्यो ।’ एकातिर लकडाउन , अर्कातिर जब लेस रुपाको मन उथलपुथल भएको थियो । के गरौँ कसो गरौँ । तर लकडाउनको समयमा कसैले चाहेर पनि के गर्न सकिन्थ्यो र? यसरी नै दैनिकी बितिरहेको थियो ।, एक दिन रुपाकी आमाले बनाएको मासुको अचार खाइरहँदा जिस्केर आमा तपाई अचार बनाउनुहोस् म बेच्छु भनिन् । कुरा हाँसो मजाकमै सकियो ।
एनजिओमा काम गर्ने र एनजिओमै भविष्य बनाउने सोचाइ राखेकी रुपाले धेरै वटा एनजिओमा काम पनि गरिन् तर मेहनत अनुसारको तलब नहुँदा उनी चिन्तित थिइन् । त्यो बिचमा उनले कति मात्रै ठाउँमा इन्टरभ्यु दिइनन् होला। तर उनलाई कहीँ सान्त्वना मात्रै मिल्थ्यो भने कहीँ तपाइले सक्नुहुन्न जस्ता जवाफहरु । उनको जागिर समयअवधीका कारण सकियो सकिनासाथ लकडाउन भयो । उनका छिमेकीहरु किन काममा नगएको भनी वाण रुपी प्रश्न तेर्साउँथे उनलाई मुटुमै लाग्थ्यो ।
बिचमा उनका साथीले कुसन बनाउने काम गर्न सुझाए तर उनका परिवारले उनलाई साथ दिएनन् र एक दिन रुपाले आफ्नी आमालाई अचार बनाएर बेच्ने प्रस्ताव राखिन तर लगानी कसले गर्ने त? फेरी दोधार भयो । उनले एक संस्थामा गएर आफुँले विगत केही समयदेखि अचार बेच्दै आएको भन्दै सहयोगका लागि अपिल गरिन् ,त्यो संस्थाले २३ हजार ५ सय रुपैयाँ सहयोग ग¥यो र बन्यो आमाछोरी अचार ।
त्यो पैसा लगानी गरेर सामान किने , आमाले अचार बनाइन्। रूपाले सय ग्रामका दरले १० वटा बट्टामा अचार प्याक गरिन्। नख्खु तरकारी बजारमा बेच्न राखिन्। त्यो १० बट्टा अचार एकै दिनमा बिक्री भयो। एक हजार रुपैयाँ आम्दानी भयो , यसपछि उनी उत्साहित भइन्। यसलाई व्यवसाय बनाउन सकिन्छ भन्ने हिम्मत भयो। बजारबाट विभिन्न ब्रान्डका अचार अर्डर गरिन् र तिनको स्वाद चाखिन्। अचार बनाउने तरिकाहरू युट्युबमा खोजेर हेरिन्। केही दिनमा उनले पैसा पनि जुटाइन्। यही पैसाले किनमेल गरेर अचारको काम सुरू गरिन्। बिस्तारै उनलाई आफन्तको पनि सहयोग मिल्दै गयो । हौसला झन् बढ्यो। व्यापारका लागि सम्पर्क बढाइन्।
एक दिन उनको अंकलले २० हजार पठाइदिनुभयो र स्टिकरहरु बनाएर स्टिकर बनाइन। पछि गएर उनलाई आफुँले पहिले काम गरेको संस्थाबाट पनि सहयोग मिल्यो । पहिलो पटक झम्सिखेलको अगेनो होटेलमा अचारको स्टल राख्ने अवसर पाइन्। बिक्री बढ्यो। यसपछि बानेश्वर पुगिन्। हरेक शनिवार बिहान अचार बोकेर बानेश्वर पुग्थिन्। दिउँसो अगेनोमा बस्थिन्। अचारको मार्केटिङ गर्न सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पेज बनाइन्। विज्ञापन गरिन्। बजार बढ्दै गयो। अर्डर आउन थाल्यो। शनिवार बाहेक अरू दिन अर्डर डेलिभरी गर्न थालिन्।
उनकी आमा कुमारी अर्याल ललितपुरको शान्तिचोकस्थित आफ्नै घरमा अनेक थरीका अचार बनाउँछिन्। आमाले बनाएको अचार घरसम्म पु¥याउने काम रूपाले गर्छिन् ।आमाले अचार बनाउने रुपाले डेलिभरी गर्छिन् । कामजस्तै ब्रान्डको नाम पनि उनीहरूले आमाछोरी अचार राखेको रुपा बताउँछिन् ।
आमाछोरी अचार , आमा छोरीले आफ्नो घरेलु उद्योगबाट बदाम ,माछा, मासु, तिलको छोप, मेथी, टिमुरको छोपका अचार हरु उत्पादन गर्छन् । रुपाले आफूहरुले उत्पादन गरेको अचार काठमाडौँ उपत्यका बाहिर पनि बिक्री हुने गरेको बताइन् । उनले कुरियर गरेर हुम्ला, जुम्ला, विराटनगर, इटहरी, भैरहवालगायत थुप्रै जिल्लामा अचार पठाउने गरेकी छन् ।
जापान, क्यानडा, बेलायत, अमेरिका, अस्ट्रेलिया जस्ता देशहरुमा पनि कोसेलीको रुपमा अचार लैजाने गरेको रुपाले बताइन् । उनले अनलाइन बजार दराज सँग सहकार्य गरेकी छन्। दाङ, सुर्खेत, बुटवल, भैरहवा, इटहरी र विराटनगर लगायतका ठाउँबाट पनि अर्डर आउँछ । उपत्यकाबाहिरको डेलिभरी कुरियरमार्फत हुन्छ। काठमाडौँ उपत्यकामा भने रुपा आाफैले चार पाङ्ग्रे स्कुटरमा घरघरमा पु¥याउँछिन् ।
रूपा शारीरिक अपाङ्गता भएकी व्यक्ति हुन्। बैसाखीको सहायताले हिँडडुल गर्छिन्। चार पाङ्ग्रे स्कुटर चलाउँछिन्। उनी व्यवसायी पनि बनेकी छन्। सुरूमा स्कुटर गुडाउन निकै डराउँथिन् , तर आँटे के हुन्न र ? उनी भन्छिन् । व्यवसाय सुरू गरेपछि उनलाई अझै आँट बढ्यो। अहिले अचार बोकेर उनी उपत्यका भरी पुग्छिन् ।
उनीहरु हरेक मङ्गलवार ललितपुरको भनिमण्डलमा लाग्ने हाटमा आमाछोरी अचारको स्टल राख्न साताभर व्यस्त रहन्छन्। स्टलबाट राम्रो व्यापार हुन्छ। उपभोक्ताहरूको प्रतिक्रिया निकै राम्रो छ। कतिपय उपभोक्ताले भने डेलिभरीमा उनलाई देखेर अलिक संवेदनशील हुन्छन्। यसबाट कहिलेकाहीँ उनको व्यापारमा पनि असर पर्ने गरेको छ।‘डेलिभरीमा जाँदा मेरो अवस्था देखेर होला अर्को चोटी अर्डर गर्नुहुन्न उनले भनिन् , सायद मैले सक्दिन भनेर होला,।’ तर यस्तो अवस्थाबाट उनी हतोत्साहित भने छैनन्।
आमाको सहयोगमा आत्मविश्वासका साथ अघि बढेकी रूपा अपाङ्गता भएकाहरूका लागि प्रेरणा बन्न चाहन्छिन्। उनी आमाछोरी अचारलाई ब्रान्डका रूपमा स्थापित गरेर आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने योजनामा छिन्। शारीरिक अपाङ्गता भएकी छोरीलाई आत्मनिर्भर बनाउन र उनलाई खुसी राख्न व्यवसाय थालेको रुपाका परिवार बताउँछन् ।
छोरीलाई सानैमा शारीरिक रूपमा अशक्तता देखिएका कारण उनलाई हौसला र साथ दिनका लागि उनकै खुसीका लागि यो व्यवसाय थालेको रुपाकी आमा कुमारी अर्याल भन्छिन् । रूपा २०४८ सालमा म्यानमारमा जन्मेकी हुन्। जन्मिँदा उनको शरीरमा समस्या थिएन। दुई वर्षपछि भने स्वास्थ्यमा समस्या देखियो। उपचार लागेन। दुवै खुट्टा निष्क्रिय भए।
‘म अरू बच्चासरह बामे सर्ने, पाइला चाल्ने गर्थेँ रे। दुई वर्षको छँदा अत्यधिक ज्वरो आएपछि उपचारकै क्रममा खुट्टा चल्न छाडेको रहेछ’, उनले भनिन्, ‘म्यानमारकै एउटा अस्पतालमा उपचारका क्रममा एक सिकारू स्वास्थ्यकर्मीले सुई लगाइदिएपछि बिस्तारै खुट्टा चल्न छाडेको रे ।’ उनी चार वर्ष उमेरकी हुँदा नेपाल आएकी थिइन्।
उनको दुई पटक खुट्टाको शल्यक्रिया गरियो। दोस्रो शल्यक्रिया १६ वर्षको उमेरमा धुलिखेलमा रहेको एक अस्पतालमा भएको थियो। पहिला घिस्रेर हिँड्नुपर्ने, अरूको सहारा लिएर हिँड्नुपर्ने उनी त्यसपछि भने बैसाखी टेकेर हिँड्न सक्ने भएकी हुन्।
ग्राहकहरुको राम्रो प्रतिक्रियाले उत्साही बनेकी रूपा अब उद्योग नै खोल्ने सोचमा छिन्। र उनीजस्ता कैयौँलाई जागिर दिने सोँच छ । आमाको साथ भए संसार जित्न सकिने उनको विश्वास छ । परिवारका सदस्यहरूले आवश्यकता अनुसार काममा सघाउँछन्।
आमाछोरी अचार ब्रान्ड अन्तर्गत बन्ने माछा, मासु, बदाम, तिल, टिमुर र मेथीको अचार बनाउने तरिका भने सबै किसिमको अचार बनाउने तरिकासँग मिल्दोजुल्दो भएको उनीहरू बताउँछन्। अचारको मसला केही भिन्न हुन्छ। तर ग्राहकको स्वास्थ्यको पनि ध्यान राखेको उनीहरुको भनाई छ ।
अचार तयार भएपछि बट्टामा राखेर ब्रान्डको नामसहित विवरण भएको स्टिकर टाँसिन्छ र बजारमा पठाइन्छ । आमा छोरीले उत्पादन गरेका अचारका प्याकहरु १५० देखि ५५० रुपियाँसम्ममा बिक्री हुने गर्छ । अचारपछि अरु थप परिकार पनि उत्पादन गर्ने आफूहरुको योजना रहेको उनले सुनाइन्
सबै अचार खाना र खाजासँग खान मिल्छ। माछाको र मासुको अचार खानासँग निकै स्वादिष्ट हुन्छ। बदाम र तिलको अचार उसिनेको आलु, काँक्रो आदिमा पनि खान मिल्ने, तथा टिमुरको अचार खाना र चाउचाउ, थुक्पा जस्ता खाजाका लागि विशेष हुने रुपा बत्ताउँछिन् ।सबै जसो अचार ६ महिनासम्म राख्न सकिने उनको भनाइ छ।
हरेक मङ्गलवार ललितपुरको भनिमण्डलमा लाग्ने हाटमा आमाछोरी अचारको स्टल राखिन्छ। स्टल राख्न आमाछोरी साताभर व्यस्त रहन्छन्।स्टलबाट राम्रो व्यापार हुन्छ। एक दिनमा ७ देखि १५ हजार सम्म व्यापार हुन्छ । यही भदौ १ गते देखि नयाँ स्टल सुरु गरेका छन् । ललितपुरको महालक्ष्मिस्थान मा शुक्रवार दिउसो १ बजेदेखि ६ बजेसम्म र शनिवार बिहान ६ बजे देखि ११ सम्म स्टल रहन्छ ।
गत शुक्रवारको स्टलमा पहिलो दिन नै २२ सय ५० को व्यापार भएको रुपाले बताइन् । अन्य अचार अनलाइन बाटै बिक्छ ।अचार जति धेरै अर्डर भयो, रूपाको खुसी त्यति नै बढ्छ। समाजसेवामा रुचि भएकी रुपा अहिले समाजशास्त्र विषयमा स्नातकोत्तर गर्दै छिन् ।







