काठमाडौं । बैङ्क तथा वित्तीय कम्पनीबाट ऋण लिनेहरु हरेक दिन सयौँको संख्यामा कालोसूचीमा परिरहेका छन्। जसको कारण हो आर्थिक मन्दी तथा अर्थतन्त्रमा देखिएको शिथिलता ।
कोरोनाले थलिएको अर्थतन्त्र उठ्नै लाग्दा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता र विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीका कारण दैनिक रुपमा करिब एक सय असी व्यक्ती तथा फर्म कालोसूचीमा पर्ने गरेको कर्जा सूचना केन्द्रको तथ्याङ्कले देखाएको छ ।
व्यापार व्यवसायमा मन्दी छाएको छ । कतिपय व्यवसायीहरू व्यवसाय छाड्न बाध्य भएका छन्। महँगी बढेको बढ्यै छ । जागिर गर्नेहरु पनि आर्थिक मन्दीको प्रभावबाट अछुतो हुन सकेका छैनन् ।
लगभग सबै खाले व्यावसायहरु मन्द गतिमा चलिरहेका छन् । एकातिर महँगी बढिरहेको छ अर्कातिर व्यवसाय सुस्त गतिमा चल्दा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिने व्यवसायीहरू चपेटामा परेका छन् । एकातिर ऋण, अर्कोतिर व्यवसाय ठप्प। त्यसो हुँदा उनीहरु ऋण तिर्नै नसक्ने अवस्थामा पुगेपछी कालोसूचीमा पर्नेको सङ्ख्या बढ्दै गएको छ ।
आर्थिक भ्वाइसंग कुरा गर्दै कर्जा सुचना केन्द्रका प्रवक्ता बिजय कुवरले, चालु आर्थिक वर्षको कार्तिक १७ गते सम्ममा मात्रै १४ हजार ७ सय २५ जना कालो सुचीमा परेको बताए । जसमा सबै भन्दा धेरै चेक बाउन्स भएर कालोसूचीमा परेको   उनको भनाई छ।  गएको असोज महिनाको अवस्था हेर्दा, दैनिक सय बढी कालोसूचीमा परेका छन् । असोज महिनामा मात्रै ३ हजार ९ सय ३५ जना कालोसूचीमा परेका छन् । कार्तिक महिनाको १ गते देखि १७ गते सम्ममा एक हजार ६ सय ४६ कालोसूचीमा परेका छन् ।
 त्यस्तै, गएको साउनको अवस्था हेर्ने हो भने दैनिक रुपमा २ सयको हाराहारीमा कालो सुचीमा परेको कर्जा सूचना केन्द्रको तथ्याङ्क छ । भदौमा ३ हजार ८ सय ९१ कालोसूचीमा परेका थिए । गत आर्थिक वर्ष २०७९–८०मा ३४ हजार ८१ जना कालोसूचीमा परेको केन्द्रको तथ्याङ्कले देखाएको छ । अहिले कालोसूचीमा पर्नेको सङ्ख्या केही मात्रामा कम भएको केन्द्रका प्रवक्ता कुवंरको भनाई छ । पहिले भन्दा केही मात्रामा कालोसूचीका लागि कम निवेदन आउन थालेको प्रवक्ता कुंवरले बताए ।

चालु आर्थिक वर्ष २०८०–८१ मा कालोसूचीमा पर्ने फर्म तथा व्यक्तिहरूको संख्या