काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा हाल विभिन्न ११ वटा आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको बताएका छन् ।
नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि पहल गरिदिन अर्थमन्त्री पुनले राजदूत थेयङलाई आग्रह गरेका छन्। नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गर्दै अर्थमन्त्री पुनले दक्षिण कोरियाको विकास मोडलबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । यसअघिका विकास साझेदारी कार्यक्रम र रोगजारी प्रणाली (इपिएस) लाई निरन्तरता गर्दै लगिने राजदूत थेयङले बताएका छन् । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको उनको भनाई छ ।
कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपिएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उल्लेख गर्नुहुँदै राजदूत थेयङले विकास साझेदारीका लागि नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । हाल गण्डकीमा सञ्चालित ‘कोरियन भोकेसनल सेन्टर’लाई सातवटा प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनले जानकारी गराएका छन् ।
नेपालले आगामी सन् २०२६ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरिसक्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको राजदूत थेयङको भनाइ छ । आगामी मे महिनाबाट कोरियन कम्पनी हुण्डाईले नेपालमै गाडी उत्पादनको काम थालेर वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएकामा त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन राजदूत थेयङले आग्रह गरे।






