काठमाडौं । नयाँ स्टक ब्रोकर एशोसिएसनले अर्थसमितिले पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको आरोप लगाएका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको हुँदा तत्काल खारेज गर्न नयाँ स्टक ब्रोकर एशोसिएसनले माग गरेको छ ।

सर्वोच्च अदालतले गत चैत २६ को फैसलापछि नेपाल धितोपत्र बोर्डले ४३ वटा नयाँ कम्पनीलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन ३ वटा चरणमा आशयपत्र जारी पूर्वाधार तयार भएका १८ वटा नयाँ ब्रोकर कम्पनीलाई दुई चरणबाट लाइसेन्स प्रदान गरेको छ ।

अर्थसमितिको सोमबार बसेको बैठकले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो ।

बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको हो ।

बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरणमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको र सांसदहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनेर विषय उठान गरेको हुँदा तत्काल लाइसेन्स वितरण प्रक्रिया स्थगित गर्न समितिले निर्देशन दिएको थियाे ।