काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।
ब्रेक प्याडभित्र लुकाएर ६० किलो सुन तस्करी गरेको प्रकरणमा सरकारी वकिलको कार्यालयले चलाउनेसहित २९ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । कलैया उपमहानगर–१ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएकी अमला रोका फरार छन् ।
नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
सबै आरोपितहरूविरूद्ध सुन तस्करी गरेकामा ३ अर्ब ५० करोड २ लाख रूपैयाँ, ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रूपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रूपैयाँ कायम गरिएको अभियोगपत्रमा उल्लेख छ ।







