काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया पेचिलो बन्दै गएको छ । झण्डै चार महिना अघिदेखि बोर्डमा अध्यक्ष रिक्त हुँदा पुजी बजार सुधारका कामहरु गतिहिन मात्रै बनेका छैनन्, बजार नै अनियन्त्रित बन्दै गएको छ ।
तर बोर्ड अध्यक्ष नियुक्तीका लागि अघि बढेको प्रक्रियाले भने वर्तमान सत्ता गठबन्धन नै धरापमा पार्ने जोखिम बढ्दै गएको छ । हाल बोर्ड अध्यक्ष चयनका लागि पाँच जनाको नाम सर्ट लिस्टिङ भैसकेको छ । योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठ संयोजक, अर्थ सचिव मधु मरासीनी र विज्ञ उदय निरौला सदस्य रहेको छनौट समितिले डा.नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठलाई टप पाँचमा छनौट गरेको छ ।
टप पाँच प्रतिष्पर्धीमध्ये चार जना बामपन्थी अर्थात माओवादी निकटका छन् । तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई माओवादी कार्यकर्ता हुन् भने नेप्सेका वर्तमान सीईओ कृष्ण कार्की पनि माओवादी नै हुन् । बोर्डका बरिष्ठतम कार्यकारी निर्देशक डा. नवराज अधिकारी स्वयं प्रधानमन्त्री प्रचण्डका आफन्त हुन भने अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ पनि माओवादी समर्थक नै हुन् ।
एमाले–माओवादीको सत्ता समिकरणलाई पार्टी एकतासम्मै पुर्याउने कसम खाईरहेका एमाले अध्यक्ष केपी ओली भने काँग्रेस कार्यकर्ता सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन मरिहत्ते गरेर लागिपरेका छन् ।
बुटवलका काँग्रेस नेता चोकनारायण श्रेष्ठका छोरा सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्ड अध्यक्ष बनाउने योजना व्यवसायी दिपक भट्टको हो । श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाएर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्ने योजनामा रहेका भट्टले केपी ओलीलाई दबाव दिईरहेका छन् । भट्टको योजनामा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलको पनि जोडबल छ ।
बुटवलमा पौडेललाई चुनाव जिताउन सधै सहयोग गर्दै आएका श्रेष्ठले पौडेल मार्फत पनि ओलीलार्य दबाव दिईरहेका छन् र ओलीले प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनलाई गठबन्धनलाई नै असर पर्ने चेतावनी दिईरहेको स्रोत बताउँछ ।
एमाले अध्यक्ष ओलीले धितोपत्र बोर्डको अध्यक्ष आफुले भनेको व्यक्ति नबनेमा गठबन्धनमै समस्या आउने चेतावनी प्रधानमन्त्री र अर्थमन्त्रीलाई दिईसकेका छन् ।
चार जना बापमन्थी पृष्ठभूमिका उम्मेदवारलाई छाडेर एक मात्रै काँग्रेस उम्मेदवारमाथि ओलीले किन जोड दिईरहेका छन् ? भन्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कोर टिममा छलफल गरेको स्रोत बताउँछ । पछिल्लो समय काँग्रेस–एमाले सहकार्यका हल्लाहरु चलिरहेका बेला ओलीले बोर्डमा पनि काँग्रेस कार्यकर्तालाई नै पठाउन खोज्नुमा व्यवसायीक स्वार्थ मात्रै छ वा राजनीतिक कारण पनि छ भन्दै प्रचण्डले आफ्नो टिमलाई तथ्य पत्ता लगाउन निर्देशन दिएको स्रोत बताउँछ ।
माओवादी केन्द्रले नेतृत्व गरिरहेको अर्थमन्त्रालय मातहतको धितोपत्र बोर्डमा ओलीले यति धेरै चासो किन दिए ? भन्ने प्रश्न पनि उब्जिएको छ । किन भनेर गठबन्धनमा जुन पार्टीको भागमा जुन मन्त्रालय छ सोही पार्टीले आफु अनुकुल योग्य व्यक्तिलाई नियुक्त गर्ने संस्कृति हालसम्म निरन्तर थियो । अरबौं चलखेल भैरहेको व्यापक चर्चाका बीच एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष बिष्णु पौडेलले व्यवसायी दिपक भट्टले अघि सारेका काँग्रेस उम्मेदवारलाई बोर्ड अध्यक्ष बनाउन दबाव दिनु आफैंमा आश्चर्यको बिषय बनिरहेको छ ।







