काठमाडौँ । चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत सय किलोमिटर बढी ग्राभेल भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जानकारी छ ।
गत आव २०७९-०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्रे भएको थियो। बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको भौतिक पूर्वाधार विभागले जनाएको छ ।
यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।
बहुवर्षीय योजनाका सडक, मोटरेबल र झोलुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ। राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयको भनाई छ ।
“प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्रे र ढलान गरी स्तरोन्नति गरिएको र सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ मन्त्रालयको भनाई छ ।







