काठमाण्डौ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्राधिकरणले शुक्रबार इजाजत प्राप्त सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको खबर प्राप्त भएको हो ।
यस अघि प्रधिकरणले माघ १ गतेदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको थियो ।
यस्तै, बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्न प्राधिकरणले सबै बीमकलाई निर्देशन दिएको अवस्था छ।
प्राधिकरणले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनका लागि बीमकले आवश्यक प्रचारप्रसार,आन्तरिक कार्यविधि निर्माण, सम्बन्धित फाराम संशोधनलगायतका कार्य तत्काल गर्न भनेको छ। साथै नेपाल नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्न पनि निर्देशन दिएको छ ।
गृह मन्त्रालयले गत सोमबार राजपत्रमा सस्चना प्रकाशित गर्दै बैंक तथा वित्तीय सेवा प्रवाहमा माघ १ गतेदेखि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न निर्देशन दिएको थियो । यस्तै माघ १ गतेदेखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा, निवृत्तीभरण, राजश्व व्यक्तीगत आयकर दर्ता, सवारी चालक अनुमतीपत्र, कम्पनी दर्ता तथा नविकरण सम्बन्धी सेवा र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरिएको हो ।
पछिल्लो समय नेपालमा राष्ट्रिय परिचय पत्रलाई मुख्य ग्राहयता दिइरहेको अवस्था छ ।







