काठमाडौं। ८८.४५ प्रतिशत हकप्रद निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को शेयर भाउ जीवन बीमा कम्पनीमध्येको सबैभन्दा धेरै रहेको छ ।
नेपालमा संचालित जीवन बीमा कम्पनीमा आफ्नो छुट्टै पहिचान बनाएको कम्पनीको सेयर पछिल्लो महिना आक्रामक रुपले बढेको छ । कम्पनीले हकप्रद सेयर ल्याउने तयारी र रिटेन्ड अर्निङमा थुप्रै रकम जम्मा रहेको कारणले लगानीकर्ताको आकर्षण देखिएको हो ।
पछिल्लो ३ आर्थिक वर्ष शेयरधनीलाई लाभांश नदिएपनि यस कम्पनीले आगामी वर्ष आकर्षक लाभांश दिने सम्भावना छ । कम्पनीको रिटेन्ड अर्निङमा जम्मा रहेको रकम र यसको पूँजी लगभल बराबर नै देखिएको छ ।
कम्पनीको रिटेन्ड अर्निङसँगै खुद बीमाशुल्क संकलन, बीमा कोष, लगानीको रकम पनि त्यसैगरी बढेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्ता पुर्याउन निर्देशन दिएको छ । कम्पनीको हालको पूँजी २ अर्ब ६५ करोड ३२ लाख छ । बाँकी पूँजी हकप्रद जारी गरेर पुर्याउने छ ।
वित्तीय अवस्था निकै राम्रो रहेको यस कम्पनीले हकप्रद जारी गर्ने भएपछि लगानीकर्ताहरु आकर्षण बढेको जानकारहरुको भनाई छ । त्यसो त, नेपालका लगानीकर्ताहरुले हकप्रद शेयरलाई रुचाउँछन् । त्यसमाथि, बीमा कम्पनीको हकप्रदमा बढी नै आकर्षण छ ।त्यसैले गर्दापनि १ महिनाको अन्तरालमा कम्पनीको बजार भाउ अरु बीमा कम्पनीहरुको भन्दा धेरै बढेको छ ।
एलआइसीको प्रतिशेयर नेटवर्थ पनि २०० रुपैयाँ भन्दा धेरै छ । कम्पनीले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा २३ करोड ८५ लाख नाफा कमाएको छ । यो अडिट गरिएको डाटा होइन । त्यसैले यो दर फरक पर्न सक्छ । अघिल्लो वर्ष कम्पनीले ७५ करोड ३४ लाख नाफा कमाएको थियो । अडिट गरिएपछि कम्पनीको गत वर्षको नाफा सोही अनुसार आउने सक्छ । कम्पनीले पछिल्ला वर्षहरुमा ७० करोड भन्दा धेरैको नाफा गरेको छ । भारतको लाइफ इन्स्योरेन्स कर्पोरेसनको लगानी समेत रहेको कम्पनीको शेयर सप्लाई अरु बीमा कम्पनीहरुको भन्दा कम छ । त्यसैले शेयर सप्लाई कम हुँदा बजार भाउ अरु बिमाको भन्दा माथि नै देखिंदै आइएको छ ।
यस कम्पनीको प्रमुख वित्तीय सूचकहरुको अवस्था कस्तो छ ?
चुक्ता पूँजी र रिटेन्ड अर्निङ
लाइफ इन्स्योरेन्सको हालको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । कम्पनीले ३ वर्ष लाभांश प्रस्ताव गरेन । त्यसैले कम्पनीसँग रिटेन्ड अर्निङ बढेको छ । कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ५८ करोड रुपैयाँको छ । अघिल्लो वर्ष २ अर्ब ३४ करोड ४३ लाख थियो । कम्पनीको आव २०७८/७९ मा १ अर्ब ७३ करोड, आव २०७७/७८ मा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । हरेक वर्ष कम्पनीको रिटेन्ड अर्निङ बढेको छ ।
जीवन बीमा कोष र बीमा शुल्क संकलन
यस कम्पनीको बीमा कोषमा १ खर्ब २० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ खर्ब ६ अर्ब ३४ करोड थियो । त्यसैगरी पछिल्ला वर्षहरुमा बीमा कोषको आकार यो भन्दा कम देखिएको छ । कम्पनीको हरेक वर्ष उक्त कोष बढेको छ ।
यता, बीमाशुल्क संलकन पनि सोही गतिमा बढेको छ । अघिल्लो वर्ष १७ अर्ब ३८ करोड ९१ लाख रहेको बीमा शुल्क संकलन अहिले बढेर १८ अर्ब ६ करोड पुगेको छ । बीमा शुल्क संकलन पनि कम्पनीको निकै राम्रो देखिएको छ ।
लगानी तथा लगानीबाट हुने आम्दानी
यस कम्पनीको लगानी गत वर्ष १ खर्ब रुपैयाँ माथि देखिएको छ । अघिल्लो वर्ष ८६ अर्ब ५१ करोड लगानी रहेको थियो । आव २०७६/७७ मा ५४ अर्ब ८१ करोड रहेको लगानी अहिले १ खर्ब नाघेको छ ।
यता, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि सोही अनुसार बढेको छ । २०७६/७७ मा ५ अर्ब ९९ करोड रुपैयाँ रहेको उक्त आम्दानी अहिले बढेर ९ अर्ब ३३ करोड ८१ लाख पुगेको छ । यसले पनि कम्पनीको विजनेस ग्रोथ आक्रामक रहेको देखाउँछ ।
नाफा
कम्पनीले गत वर्ष २३ करोड ८५ लाख नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यद्दपि, यो अडिट गरिएको रिपोर्ट होइन । अघिल्लो वर्ष कम्पनीले ७५ करोड ३४ लाख नाफा कमाएको थियो । अघिल्लो वर्ष अडिट नगरिएको रिपोर्ट अनुसार कम्पनीको नाफा १२ करोड ४६ लाख थियो । जब अडिट गरियो कम्पनीको नाफा ७५ करोड पुगेको हो । त्यसैले अडिट गरेपछि यसको गत वर्षको नाफा पनि बढ्न सक्छ । कम्पनीले पछिल्ला वर्षहरुमा ७० करोड भन्दा धेरैको नाफा कमाएको छ ।
प्रतिशेयर आम्दानी र नेटवर्थ
यसको गत वर्षको प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ २१९.३१ रुपैयाँ छ । अडिट नगर्दा नाफा कम देखिने हुँदा प्रतिशेयर आम्दानी कम देखिएको हो ।