काठमाडौँ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।
ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो। उक्त भेटवार्ताका क्रममा दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीले समेत उपस्थिति जनाएका थिए ।
न्युयोर्कको लोट्टे प्यालेस होटलमा भएको उक्तको भेटवार्तामा नेपाल—भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत जानकारी दिएका छन् ।
‘उनले एक्समा पोष्ट गरेका छन्, ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो।’
यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा गरेका छन् । ओलीको आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको जनाइएको छ ।
भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्री डा.आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिएकी छिन् ।






