काठमाडौं । देशको पहिलो र दोस्रो ठुलो दलको गठबन्धनमा नयाँ सरकार बनेको तीन महिना पूरा भएको छ । वर्तमान सरकारमा दुई तिहाइ नजिकको बहुमत सहितको शक्ति रहेको छ ।
जनताको जीवनस्तर सुधार, आर्थिक समृद्धि र स्थायित्वका साथै सुशासन कायम गर्नका लागि भन्दै निर्माण भएको यो सरकारले जनताको पक्षमा र देशको अर्थतन्त्र उकास्ने खालका कामहरू खासै गर्न नसकेको कतिपय अर्थविद्हरूको भनाई रहेको छ ।
अहिलेको सरकारको आर्थिक व्यवस्थापन नै फितलो रहेको र पुँजीगत खर्च बढाउने देखी लिएर राजश्वको नयाँ श्रोत खोज्ने सम्म कुनै पहल नै नभएको अर्थशास्त्री अच्युत वाग्लेको भनाई छ । अर्थतन्त्रको बारेमा जति नै बोले पनि सरकारले केहि सुनुवाही नै नगर्ने भएकाले बोल्न पनि खासै मन नभएको वाग्लेले गुनासो गरे।
काम गरेर नसकेको भन्दा पनि सरकारले यसतर्फ पहल नै नगरेको उनको भनाई छ । अर्का अर्थविद् केशव आचार्यले पनि सरकारले सुरु सुरुमा केही गर्छ की भन्ने आस देखाए पनि खासै काम भने गर्न नसकेको धारणा राखे ।
आर्थिक भ्वाइससँगको कुराकानीमा उनले भने, ‘सरकारले यो तीन महिनाको अवधिमा टीआरसी विधेयक र सहकारी ठगी सम्बन्धी छानबिन आयोग गठन गरी त्यसको प्रतिवेदनको कार्यान्वयनको लागि अग्रसरता देखाउँदा एक खालको आसा जगाएको थियो । तर त्यसले पनि सहकारीका निक्षेपकर्ताको हकमा समेत काम गर्न सकेन ।’
उनले अगाडी थपे, ‘मौद्रिक नीतिले भने अर्थतन्त्रलाई सक्रिय बनाउन पहल गर्छ की भन्ने लागेको भए पनि निक्षेपकर्ताहरू भने मार नै परेका छन् ।’ उनले दुई तीन वर्ष पहिले नै ११ प्रतिशतसम्म पुगेको निक्षेपको ब्याजदर अहिले ५ प्रतिशतमा झर्नु आम निक्षेपकर्तालाई मार परेको भएको बताए ।
‘ऋणीको ब्याजदर एकल अङ्कमा त झरेको छ तर पनि कर्जा प्रवाह भने हुन सकेको छैन । कतिपय केसमा बैङ्कहरूको आफ्नै नीतिका कारणले पनि कर्जा प्रवाहमा कमी आएको पनि हुन त सक्छ । तर नयाँ लगानीकर्ताले भने अहिलेको सरकारलाई विश्वास गर्न सकेको भने देखिन् ।’ अर्थविद् आचार्यले भने।
अझै निजी क्षेत्रले त सरकारलाई विश्वास गर्न सककै छैन । बेलाबेलामा १ हप्ता वा १ महिनाको लागि राष्ट्र बैङ्कले बैङ्कहरूमा थुप्रिएको तरलतालाई मौद्रिक उपकरणहरूको प्रयोग गरेर खर्बौँ रुपैयाँ तान्ने गरेको भए पनि त्यसको सञ्चार अर्थतन्त्रमा नदेखिएको उनको भनाई छ ।
उनले अगाडी थपे, ‘अहिले सरकारले जग्गाको कित्ताकाट खोलिदिँदा पनि कारोबार नै हुन सकेको छैन । तर आर्थिक सुधारका लागि आयोग गठन भने भएको छ । यसले कसरी काम गर्छ, त्यो भने हेर्न बाँकी नै छ । तर अर्थतन्त्रको सुधारका लागि भने यो सुखद नै हो जस्तो मलाई लाग्छ ।’
उनले अगाडी थपे, ‘राजश्व सङ्कलनमा भने गत वर्षकोभन्दा केही सकारात्मक सङ्केत देखिए पनि, न्यून पुँजीगत खर्च लगायतका कारणले सरकारले लगानीकर्ताहरूलाई अझै विश्वास दिलाउन सकेको अवस्था छैन ।’
यता नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री सरकारको छोटो समयकै आधारमा टिप्पणी गरिहाल्नु उचित नभए पनि अर्थतन्त्र सुधारका लागि आसलाग्दो सङ्केत केही नदेखिएको धारणा राख्छन् ।
‘भ्रष्टाचार उन्मुलन, सहकारी ठगी प्रकरणको विषयको छानबिनदेखि अन्य काण्डहरूमा समेत सरकारले काम गर्न सकेको छैन । यस्तै जनताको निराशालाई आशामा बदल्ने प्रयत्न पनि यो सरकारबाट भएको मान्न सकिदैन् ।’ उनले भने ।