काठमाडौँ । विश्वको धनाढ्यको सूचीमा ठुलो फेरबदल आएको छ । जसको असर भारतीय धनाढ्य मुकेश अम्बानी र गौतम अडाणीलाई प्रत्यक्ष रूपमा परेको छ । यी दुवै धनाढ्य व्यक्तिहरू विश्वको शीर्ष १५ को सूचीबाट बाहिरिएका हुन्।
विगत केही समयदेखि भारतीय सेयर बजारमा आएको गिरावटका कारण यी दुई धनाढ्यको सम्पत्तिमा निरन्तर कमी आएको थियो। बितेको एक महिनामा मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको शेयर मूल्य ५ प्रतिशतले घटिसकेको छ।
अम्बानीको सम्पत्ति ९८.८ अर्ब डलरमा सीमित बनेको छ। यो गिरावटसँगै उनी विश्वको १७औँ धनी व्यक्तिको सूचिमा ओर्लेका छन् । यस्तै गौतम अडाणीको सम्पत्तिमा समेत २.०६ अर्ब डलरले घटेको छ । अडाणीको सम्पत्ति ९२.३ अर्ब डलरमा सीमित बनेको छ। उनी विश्वको १८औँ धनी व्यक्तिको रूपमा रहेका छन् ।
यसैबीच एलन मस्कको सम्पत्ति ४.३९ अर्ब डलरले घटेर २५८ अर्ब डलर पुगेको छ। जेफ बेजोसको सम्पत्ति पनि १.९४ अर्ब डलरले घटेर २१८ अर्ब डलरमा सीमित बनेको छ । मार्क जुकरबर्गको सम्पत्ति पनि २.२३ अर्ब डलरले घट्दै १९९ अर्ब डलरमा झरेको छ । बिल गेट्सको भने सम्पत्तिमा ३७३ मिलियन डलरको बढोत्तरी आएको छ ।