काठमाडौं । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’मार्फत लगानीसम्बन्धी सेवा विस्तार गरेको छ । ग्राहकलाई लगानी सेवा अझ सरल, सुरक्षित र पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने लक्ष्यसहित बैंकले नयाँ सुविधा सार्वजनिक गरेको जनाएको छ ।
यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमीटे सँग वैशाख ३१ गते समझदारी भएको थियो । उक्त समझदारीपत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं तथा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।
एनबैंकको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमार्फत ग्राहकले एसआइपी दर्ता तथा भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवा प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।
नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले डिजिटल माध्यमबाट लगानी पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गर्दै नयाँ सेवाले ग्राहकलाई पूँजी बजार र लगानीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
बैंकका अनुसार विदेशमा रहेका नेपालीहरूले समेत अब नेपालकै वित्तीय बजारमा सहज रूपमा सहभागी हुन सक्नेछन् । डिजिटल वित्तीय सेवाको दायरा विस्तार गर्दै एनबैंकलाई एकीकृत वित्तीय प्लेटफर्मका रूपमा विकास गर्ने रणनीतिअनुसार सेवा थप गरिएको बैंकले जनाएको छ ।
हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै आएको छ । २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ ।






