काठमाडौँ- चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक लगानी प्रतिबद्धता घटेको छ। आर्थिक वर्ष २०८२/८३ साउनदेखि वैशाखसम्म ४५ अर्ब ३२ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालले ५७ अर्ब ६ करोड रुपैयाँ बराबरको ५७६ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो।
चालु आवको १० महिनामा कुल वैदेशिक लगानी प्रतिबद्धता ७२८ प्राप्त भएको उद्योग विभागले जनाएको छ। यी परियोजनाबाट २३ हजार पाँच सय ३० रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। लगानीको ठूलो हिस्सा साना परियोजनामा छ। विभागका अनुसार सात सय ११ वटा परियोजना साना, आठ मध्यम र नौ ठूला स्तरीय छन्।
चालु आवको वैशाखमा नेपालले तीन अर्ब ५२ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। विभागका अनुसार उक्त अवधिमा एक सय १३ वटा परियोजनाका लागि लगानी प्रतिबद्धता आएको हो। यी परियोजनाहरूले नौ सय ४८ नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
वैशाखमा स्वीकृत एक सय १३ परियोजनामध्ये एक सय १२ वटा साना स्तरीय परियोजना छन् भने एउटा ठूलो स्तरीय परियोजना रहेको छ।
उद्योग विभागको मासिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा सूचना प्रविधि (आईटी) क्षेत्रले सबैभन्दा बढी परियोजना आकर्षित गरेको छ। गत वर्ष साउनदेखि यस वर्ष वैशाखसम्म कुल ४२१ आईटी सम्बन्धित परियोजनाले एक अर्ब ७४ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त गरेका छन्।
पर्यटन क्षेत्र दोस्रो स्थानमा रहँदै एक सय ८९ परियोजनाका लागि १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको लगानी आकर्षित गरेको छ। सेवा क्षेत्रमा ५५ परियोजनाका लागि चार अर्ब २५ करोड रुपैयाँको प्रतिबद्धता आएको छ।
उत्पादनमूलक क्षेत्रमा ४२ परियोजनाका लागि दुई अर्ब ७० करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ भने कृषि क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब रुपैयाँको सबैभन्दा ठूलो लगानी प्रतिबद्धता प्राप्त भएको छ। यसमध्ये ठूलो हिस्सा चिनियाँ कम्पनीद्वारा सिन्धुलीमा प्रस्तावित भैँसी फार्ममा केन्द्रित रहेको छ।
दुई खानी परियोजनाले ११ करोड ५० लाख रुपैयाँ र दुई ऊर्जा परियोजनाले २३ करोड ४२ लाख रुपैयाँको लगानी प्रतिबद्धता पाएका छन्। एक पूर्वाधार परियोजनाले एक अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त गरेको विभागको प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गए पनि यसको करिब एकतिहाइ मात्र वास्तविक लगानीमा रूपान्तरण हुने गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १० वर्षमा प्राप्त कुल वैदेशिक लगानी प्रतिबद्धतामध्ये केवल ३७.८९ प्रतिशत मात्र वास्तविक लगानीमा परिणत भएको छ। सो अवधिमा ३९५ अर्ब ९२ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धतामध्ये १२६ अर्ब २९ करोड रुपैयाँ मात्र वास्तविक लगानी बनेको छ।
उद्योग विभागले समीक्षा अवधिमा ११ अर्ब चार करोड रुपैयाँ बराबरको सेयर खरिद तथा सदस्यता सम्झौता पनि स्वीकृत गरेको छ।
प्रतिवेदनले विदेशी लगानीकर्तालाई लाभांश फिर्ता गर्न १७ अर्ब ७९ करोड रुपैयाँ स्वीकृत गरिएको देखाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.४६ प्रतिशतले बढी हो। त्यस्तै विदेशी लगानी भएका कम्पनीहरूले रोयल्टीका रूपमा पाँच अर्ब नौ करोड रुपैयाँ, ११ करोड ७० लाख अमेरिकी डलर र ३४ करोड ९१ लाख २० हजार भारतीय रुपैयाँ फिर्ता लगेका छन्।






