फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा नेपाल चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबिच विभिन्न समझदारी भएका छन्।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबिच भएको टोखा–छहरे सुरुङ मार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।

त्यस्तै, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनः निर्माण सम्पन्न गरेको  प्रमाणपत्र आदानप्रदान भएको छ। यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ। यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भ्रमणका अवसरमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबिच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसै अवसरमा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्त्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबिच कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले बेइजिङमा बुधवार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए । प्रधानमन्त्री ओलीले बुधवार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन्।