काठमाडौँ । सन् २०२४ भरमा नेपालमा ११ लाख ४० हजार बढी विदेशी पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डको तथ्याङ्कअनुसार सोमबार रातिसम्म ११ लाख ४७ हजार २६ जना पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार दैनिक रूपमा सरदर तीन हजार पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । सन् २०२३ को तुलनामा पर्यटक आगमनमा १४ प्रतिशत भन्दा बढीले बढेको छ।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए। कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनी लगायतका कार्यक्रमले समेत पर्यटन आगमनमा वृद्धि ल्याएको छ ।







