काठमाडौँ । नेपालको हकमा बैंक तथा वित्तीय संस्थामा केही समययता देखिदै आएको जटिलता र समस्या कायम भएकै कारण अर्थतन्त्रको विकास र विस्तारमा समस्या भएको यथार्थ हाम्रो बिचमा जीवित छ । भूकम्प, नाकाबन्दी, कोभिड र रुस युक्रेन युद्धबाट प्रताडित नेपाली अर्थतन्त्र अहिलेसम्म पनि तङ्ग्रिन सकेको छैन ।

अर्थतन्त्रको वर्तमान समस्याको हल गर्नका लागि प्राथमिकताहरूको थालनी भए पनि नयाँ आशा पलाउन सकेको देखिँदैन । पछिल्लो समय विशेष गरी बैंक, वित्तीय संस्थामा अधिक तरलता कायम छ । कर्जा प्रवाहमा सुस्तता छ । बैंकहरुबाट कर्जा लिने ग्राहकको संख्यामा गिरावट आइरहेको छ । यसको पछाडिको कारण के हुन सक्छ ? के आम लगानीकर्ता र बैंक वित्तीय संस्थाबिचको दूरी बढेकै हो ? आर्थिक भ्वाइसकर्मी जसिन्द्र श्रीपालीले एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसँग सोधेका छन्। प्रस्तुत छ सोही विषय उपर सिइओ खालिङले राखेको धारणाको सम्पादित अंश

पहिलो विषय त यहाँले भने जस्तो बैकिङ्ग क्षेत्र र लगानीकर्ताबिच दूरी बढेको जस्तो लाग्दैन मलाई । कर्जामा सुस्तता आउनु र बैकिङ्ग क्षेत्र र लगानीकर्ताबिचको दूरी बढ़ने दुई भिन्न कुरा हुन्भ न्ने मेरो बुझाई छ । अर्को भनेको हाम्रो बैकिङ्ग क्षेत्र त्यस्तो त्रासपूर्ण अवस्थामा छ भन्ने जस्तो पनि मलाई लाग्दैन । किनकि प्रयाप्त धितो, सुरक्षण लिएर कर्जा प्रवाह गर्ने भएको कारण पनि बैंक संकटमा जाने सम्भावना निकै न्यून रहन्छ ।

बजारमा एउटा भाष्य निर्माण भएको छ कि बैंकहरु डुबिसके। बरबाद नै भए भन्ने तर सबै गलत र भ्रमयुक्त छ भन्ने मलाई लाग्छ । हामी त्रासमुक्त नै छौ भन्नेमा दुई मत छैन । यसलाई अझ गहिरो गरि हेर्ने हो भने धितो बिनाको लोनको मात्रा अत्यन्तै कम हुन्छ । खुद खराब कर्जा को मात्रा हेर्दा पनि बैंकहरु डराउनुपर्ने अवस्था छैन । हामी अहिले कति क्यापिटलाईज छौ भनेर पुँजी हेर्ने हो भने पनि त्यो पनि प्रशस्त मात्रामा मै कायम छ।

अर्को भनेको बैंकहरुले पोर्भिजन गरिरहँदा बैंकहरु कमजोर भए भन्ने केही जनमानसको बुझाई भएको देखिएको छ । तर साँचो कुरा त त्यस्तो होइन नि अहिलेको अवस्थामा बैंकहरुको रिकभरीमा केही समस्या देखिएको कुरा साँचो हो यसलाई सुधार गर्नुपर्ने छ तर बैंक कुन बेला समस्यामा पर्छ भन्ने यकिन गर्न सकिँदैन त्यसकारण रिकभरीको समस्यालाई लुकाएर मुनाफा मात्रै देखाउने राम्रो होइन भन्ने कुरा सबै बैंक हरूले राम्ररी बुझेका छन भन्ने मलाइ लाग्छ । यो भनेको समस्यामै परिसके भन्ने बुझ्न मिल्दैन वा समस्यामै परेको होइन ।

त्यस्तै, यहाँले उठाएको खराब कर्जाको विषय जुन छ यसमा के हो भने हाल खराब कर्जाको मात्रा बढेको छ । त्यो समस्त बैंकहरुको कमजोरी भन्दा पनि हाल बिद्यमान बाह्य क्षेत्र र शिथिल अर्थतन्त्रको परिणाम हो जस्तो मेरो बुझाई हो । जसले आज बढी एनपीए देखाइ रहेका छन् ती बैंकहरुको रिकभरीमा सुधार आउदा बित्तिकै आज बैंक तथा वित्तीय संस्थामा देखिएको समस्या स्वत समाधान भई मुनाफा मा सकारात्मक फड़को मार्न सफल हुने छन।

तर रिकभरी कहिले हुन्छ भन्ने कुनै निश्चित नै हुँदैन । एक पटक कल्पना गरौँ कि भोली आएर हामीसँग भएको सम्पत्ति जस्तो कि घर जग्गा जमिनले मूल्य नै नपाउने स्थिति बन्यो, शून्य लागतको अवस्थामा आयो भने बैंक वित्तीय संस्था समस्यामा आउने हो तर त्यो त सम्भव छैन । जबसम्म बैंक चलायमान बनाउने यी कुरामा समस्या आउँदैन तबसम्म बैंकहरुमा पनि विकराल अवस्था सृजना हुँदैन भन्ने मेरो बुझाई हो ।

एक पटक कल्पना गरौँ कि भोली आएर हामीसँग भएको सम्पत्ति जस्तो कि घर जग्गा जमिनले मूल्य नै नपाउने स्थिति बन्यो, शून्य लागतको अवस्थामा आयो भने बैंक वित्तीय संस्था समस्यामा आउने हो तर त्यो त सम्भव छैन । जबसम्म बैंक चलायमान बनाउने यी कुरामा समस्या आउँदैन तबसम्म बैंकहरुमा पनि विकराल अवस्था सृजना हुँदैन भन्ने मेरो बुझाई हो ।

तेस्रो सत्य मध्यको हाल कर्जा प्रवाह हुन नसकेको अवस्था पनि एक हो । यसले बैंकलाई पनि सामान्य नोक्सानी त पुर्‍याएको छ। तर त्योसँगै बैंहहरु रिकभरीमा पनि केन्द्रित छन् , बैंकहरुको गैरबैंकिंग सम्पत्ति बढ्दा खेरी सो बराबरको रकम नाफा वा रिजर्भबाट घटाउनुपर्ने हुन्छ । यसकारण पुँजीमा चाप पर्न जान्छ । पुँजीमा चाप परेसँगै कर्जा बिस्तारमा संकुचन हुन जाने नीतिगत व्यवस्था अंतर्गत कै कुरा हो ।यसकारण हाल ८, १० वटा बैंकले यही समस्या भोगिरहेका छन् ।

त्यस बाहेक बजारमा वा चाहिएको क्षेत्रमा कर्जाको माग पनि अपेक्षा अनुरूप हुन सकेको छैन । जसलाई चाहिएको छ उसलाई पनि फेरि कहाँ ब्याजदर कम छ भन्ने चिन्ता छ नाफा नबढ्ने भएपछि गर्ने भनेकै खर्च कम हो । यसकारण कर्जा चाहनेले त्यस्तो सहजता खोजेको अवस्था छ। बैंकले पनि फेरि कर्जा दिनका लागि कम्तीमा उसको क्वालिटी हेर्छ के गर्न खोजिएको हो , कुन प्रयोजनका लागि भनेर यदि क्वालिटी परिपक्व छ भने बैंकले लगानी गर्न कर्जा दिन एकदम तयार छ , आतुर छ।

ठुलो कर्पोरेट हाउसहरू चुजि छन् । उनीहरू जहाँ सस्तो छ त्यहाँ खोज्छन्। तर साना साना कर्जामा त्यति विधि क्रियाशीलता आउन सकेको अवस्था छैन । त्यसमा पनि फेरि धितो राम्रो भए पनि क्यास फ्लो राम्रो देखिदैन् यसको कारण मन्दीको प्रभाव कायम छ । यी सबैखाले समस्याको कारणले कर्जा प्रवाहमा सुधार आउन नसकेको हो।

चौथो भनेको बैंकहरुसँग अब ब्याजदर घटाउने ठाउँ छैन , यो निकै निम्न बिन्दु नै हो। राष्ट्रबैंकको कोरिडोरको कारण पनि यहाँभन्दा तल जाने त ठाउँ नै छैन किनभने थप साँघुरिने हो भने राष्ट्रबैंकले पैसा राखेबापत दिने सुविधा बैंकहरुले पाउँदैनन्। त्यसमाथि तीन प्रतिशत भन्दा तल जानै मिल्दैन। तथापि जानै नसक्ने भन्ने होइन हाम्रो बैंक लगायत धेरै बैंक त्यो बिन्दुमा जान सक्छ तर यसो गर्दा राष्ट्रबैंकबाट प्राप्त सम्पूर्ण सुविधामा कटौती हुन्छ यसकारण पनि बैंकहरु त्यो जोखिम मोल्न तयार हुन सक्दैनन् ।

बैंक वित्तीय संस्थाको पृष्ठभूमि हेर्ने हो भने एउटा समय थियो जति बेला बैंकहरुको ब्याजदर १६,१८ प्रतिशतसम्म कायम थियो तर त्यो बेला कर्जा लिनेको कमी थिएन बैंकहरुमा कर्जा लिनेहरूको उपस्थिति बाक्लो थियो। तर आजको समयमा जति बेला ब्याजदर सबैभन्दा कम छ यस्तो अवस्थामा पनि कर्जा प्रवाह किन सुस्त छ भने पहिलो कुरा आर्थिक मन्दीको प्रभाव कायमै छ। मान्छेहरू कर्जा लिनेमा भन्दा नि फिर्ता गर्ने कसरि भन्ने कुरामा त्रसित छन् । अहिले व्यापार व्यवसायमा सिथिलता आएको छ।

देश आयातमुखि भएको छ। बजेटको समयमा कर्जा ह्वात्तै बढ्ने गरेको जुन लहर चलेको थियो अहिले त्यस्तो छैन । आयत गरेका कुरा विक्री भएका छैनन। लगानीकर्ताहरू मन्दीको चापमा परेका छन् जब लगानी नै आउँदैन तब दोहोर्‍याएर लगानी बढाउने विषय पनि भएन ।पछिल्लो समय आयात निर्यातको अवस्थामा सामान्य सुधार आएको छ। त्यसको कारण भन्सार शुल्कमा मिलेको छुटको कारण हो यद्यपि अन्य अवस्थामा आर्थिक मन्दीको प्रभाव अझैसम्म कायम छ।

अन्त्यमा, बैंकहरुको सुरक्षित ठाउँ र भरपर्दो लगानी क्षेत्र भनेकै घरजग्गा कारोबार हो तर यसका लागि कर्जा माग नै छैन । बैंकहरु घरजग्गामा ७ प्रतिशतले कर्जा दिन तयार छन् । तर हाल कर्जा लिन कोही तयार छैनन् । घरजग्गाको कारोबारमा आएको सुस्तताले अन्य क्षेत्रमा समेत प्रभाव पारेको छ । आम मान्छेमा कन्फिडेन्स नै हराएको देखिन्छ , मानिसहरू घरजग्गाको कारोबार गर्न नै छोडेको जस्तो देखिएको छ । अझै भनौँ जग्गा नै भएका मान्छेहरू पनि घर बनाउने आट गरिरहेका छैनन् । यी सबैको कारण नै आर्थिक संकट र खस्किँदो अर्थतन्त्र हो यसको सुधारको निमित्त सबै निकायले ध्यान दिनु जरुरी छ भन्ने लाग्छ।