काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहेका बताएका छन् ।
सोमबार साँझ महासंघ अर्न्तगतका विभिन्न वस्तुगत संघहरुका नवनिर्वाचित पदाधिकारीका लागि आयोजित स्वागत तथा बधाई कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।
ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र ती सम्भावनाहरूलाई अवसरमा बदल्न सोही अनुरूपको वातावरण आवश्यक भएको जनाएका छन् ।
‘हामीकहाँ हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेर्ने अभ्यास छ’ उनले भने ‘सकारात्मक दृष्टिकोणबाट हेर्दा स्वदेशमा पनि थुप्रै सम्भावनाहरू छन् । ती सम्भावनाहरूबाटै हामीले स्वदेशमा रोजगार सिर्जना गर्न सक्छौँ ।’
सानो–सानो लगानीबाट पनि स्वदेशमा पुँजी निर्माण गर्न र त्यो पुँजी परिचालनबाट देशमा पूर्वाधारको विकास गर्न सकिन्छ भनेर महासंघको नेतृत्वमा १० अर्ब पूँजीको लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको समेत उनले जानकारी दिए ।
अध्यक्ष ढकालले महासंघको पछिल्लो विधान संशोधनले वस्तुगतसंघबाट महासंघमा प्रतिनिधित्व गर्नका लागि थप अवसर सिर्जना गरेको बताए । महासंघका वस्तुगत परिषद्तर्फका उपाध्यक्ष हेमराज ढकालले महासंघले वस्तुगत संघहरुका क्षेत्रगत समस्याहरूलाई सम्बोधन गर्न महासंघले निरन्तर पहल गरिरहेको बताए ।
महासंघका उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्र चलायमान बनाउन र देशमा रोजगारी वातावरण सिर्जनाको लागि महासंघले सकृय रूपमा भूमिका निर्वाह गरेको बताए ।







