काठमाडौँ । राष्ट्रबैंकले आगामी वर्ष २०८२ सालमा बैंक वित्तीय संस्थामा हुने सार्वजनिक बिदाको सूचि प्रकाशन गरेको छ , जस अनुसार ८२ सालभरमा ३८ दिन सार्वजनिक बिदा हुने भएको छ । शनिवार बाहेक ३८ दिन बिदा हुने भएको हो ।
उल्लेखित बिदा अनुसार ३२ दिन बाहेक अन्य ६ दिन सरकारले बिदा दिने निर्णय गरेको हकमा मात्रै लागू हुनेछ । राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ । आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ ।
त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय निर्धारण भएको छ । यस वर्षभर प्रत्येक शुक्रवारका लागि कार्यालय समय बिहान १० बजेदेखि १ः३० बजेसम्म खुला रहने भएको छ ।
कारोबार समय
आउँदो वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बैंकिङ कारोबारको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म र प्रत्येक शुक्रवार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ कारोबार हुने राष्ट्रबैंकले सार्वजनिक गरेको सूचिमा उल्लेख छ ।







