काठमाडौं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ‘अवैध भेप’ कारोबारमा संलग्न भएको समाचार बाहिरीए पछि उक्त विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।
गुरुङले आफूले कुनै पनि अवैध भेपको कारोबार नगरेको भन्दै खण्डन बाहिर आएका सबै समाचार र आरोपहरुको खण्डन गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू गंगा कार्की र मनिष झाले राखेको धारणाप्रति ध्यानाकर्षण भएको बताउँदै गुरुङले आफ्नो आपत्ती रहेको बताएका छन् ।
‘सार्वभौम जनताका प्रतिनिधिमूलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणा तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ,’ ‘तथापि, सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ।’
यस्तै, गुरुङले दुई सांसदको धारणामा आधारित भई सम्प्रेषण भएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारी भित्र नपर्ने उनको उनको भनाई छ ।
पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने विश्वास भएको उनले बताए।
‘अर्बौं रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षड्यन्त्र हो,’ उनले भने। एक जना चालकले गरेको अपराधसँग जोडेर कर्पोरेट संस्थालाई बदनाम गराउने कार्यमा नलाग्न आग्रह समेत गरेको छन् ।






