काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकिन हप्ता दिन मात्रै बाकी रहँदा आगामी गभर्नर को बन्ला भन्ने चर्चासँगै गभर्नर कस्तो हुनुपर्छ भन्ने समेत चर्चा चलिरहेको छ ।
गभर्नर नियुक्तिको विषयले बजार तताइ रहेको समयमा गभर्नर पद हत्याउनका लागि अहिले विभिन्न व्यक्तिहरू राजनीतिक शक्ति केन्द्र धाइरहेको अवस्था छ। शक्ति केन्द्र धाउनेहरूमा नेपाल राष्ट्र बैंककै बहालवाला डेपुटी गभर्नरहरूदेखि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, पूर्वसचिवहरु र केही अर्थशास्त्रीहरूका नाम समेत चर्चामा छन्।
यीमध्ये केही उम्मेदवारहरु गभर्नर बन्नको लागि योग्य र सक्षम छन् भने केही व्यक्तिहरू राजनीतिक आडमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएको देखिन्छ। तथापि, राष्ट्र बैंक स्वायत्त निकाय भएको कारण भावी गभर्नर आर्थिक विज्ञ एवं बैंकिङ क्षेत्रको जानकार तथा कुनै राजनीतिक प्रभाव नभएको व्यक्ति नियुक्ति हुनुपर्ने पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको भनाई छ ।
आगामी गभर्नरमा हुनुपर्ने विशेषता र गुण विषय आर्थिक भ्वाइसँगको कुराकानीमा पुर्वगभर्नर क्षेत्रीले राजनीतिक दलहरूले आग्रह–पूर्वाग्रह त्यागेर अर्थतन्त्र बुझेको, र गभर्नरको नेतृत्वलाई उचाइमा ल्याउन सक्ने सक्षम व्यक्तिलाई छान्नुपर्ने बताएका छन्।
‘राष्ट्र बैकको गभर्नर कुनै पनि आग्रह–पूर्वाग्रहमा पर्नु हुँदैन यसको गरीमा र महत्त्व असाध्यै ठुलो हो यसकारण व्यक्ति केन्द्रित भन्दा पनि अनुभव, दक्षता,क्षमता र पदीय जिम्मेवारी बोध गर्न सक्ने हुनुपर्छ भन्ने मेरो धारणा हो, क्षेत्रीले भने ।
नियुक्ति दिनेले आग्रह–पूर्वाग्रह राख्यो भने त्यसरी आएको गभर्नरले मुलुकको हित हुने गरी राम्रो काम गर्न नसक्ने भन्दै अहिले गभर्नरका लागि आकांक्षी बन्ने राष्ट्र बैंकभित्र र बाहिरका केही व्यक्तिहरू सक्षम देखिएको भए पनि राजनीतिक स्वार्थ हुन नहुने उनको भनाई छ । सक्षम व्यक्ति नियुक्तले मात्रै मुलुकको अर्थतन्त्र चलायमान बनाउन सक्ने क्षेत्रीले बताए ।
आफ्नो भनाइलाई थप प्रस्ट पार्दै क्षेत्रीले भने ‘अहिले मुलुकको अर्थतन्त्रमा मन्दी कायमै छ। नयाँ गभर्नरसँग मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई माथि लैजाने आवश्यक मौद्रिक नीतिहरू तर्जुमा र कार्यान्वयन गर्ने हिम्मत हुनु जरुरी छ, त्यो सँगै वित्त नीतिको प्रभावकारिता र कार्यान्वयनका लागि सरकारलाई आवश्यक सल्लाह र मार्गदर्शन दिन सक्ने गभर्नर भयो भने मात्रै हाम्रो साझा अपेक्षाहरू परिपूर्ति हुन सक्छ भन्ने लाग्छ ।
तर राजनीतिक दबदबा त कायमै छ यस्तो अवस्थामा आस्थाविहीन आकांक्षी भेटाउन त गाह्रो पर्ला नि वा भेटिए पनि राजनीतिको छायाले ओझेल पार्ला नि भन्ने आर्थिक भ्वाइसको प्रश्नमा अधिकारीले भने गभर्नर ५ वर्षे अवधिको मालिक हो । यहाँले भनेजस्तै राजनीतिक आस्थाभित्रै बाट आएपनि राजनीतिक दलसँग वा देशको प्रधानमन्त्री अर्थमन्त्रीसँग त टचमा रहेर काम गर्नुपर्ने हुन्छ । उक्त व्यक्तिसँग सहकार्य गर्नुपर्ने हुन्छ यसकारण त्यो क्षमता, क्वालिटी र हुन जरुरी छ भन्ने मलाई लाग्छ।
सकेसम्म गभर्नर स्वयंमा कुनै दलको प्रत्यक्ष राजनीतिक गन्ध आउनु हुँदैन । यस्तो भएको खण्डमा भूमिका प्रभावकारी हुन सक्दैन। उनले भने केन्द्रीय बैंकले तय गर्ने मौद्रिक नीतिको निकै प्रतीक्षा हुने गरेको छ । बजेटभन्दा पनि मौद्रिक नीतितर्फ आम लगानीकर्ता तथा निजी क्षेत्रहरूले बढी चासो राख्ने गरेको पाइन्छ। यसले पनि केन्द्रीय बैंक र गभर्नरको भूमिका असाधारण छ भन्ने मेरो धारणा हो ।







