काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले मच्चाएको अराजकताप्रति कटाक्ष गरेका छन्।

समाजवादी मोर्चाको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीनकुनेमा मण्डलेहरुले अराजकता मच्चाएको कटाक्ष गरेका छन्।

‘हामीले सभा राख्ने घोषणा गरेपछि उनीहरूले पनि आजै सभा राखे। यसबाट उनीहरू वातावरण धमिल्याउने र उत्तेजित पार्न चाहने मनसायमा त देखिएकै थिए’, उनले भने,

‘तर १२ वर्ष ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै भनेजस्तो मण्डले अराजकताको पराकाष्ठ भएको छ। तीनकुनेमा मण्डलेहरूले घरमा आगो लगाएका छन्, ढुंगा प्रहार गरेका छन्। १-२ जना मान्छे मरुन् र देशमा आतंक फैलियोस भन्ने चाहेका छन्, त्यो राजावादीको चरित्र हो।’

अध्यक्ष प्रचण्डले आफूहरूले शान्तिपूर्वक कार्यक्रम गरिरहेको भन्दै गणतन्त्रवादी र राजावादीमा यही फरक रहेको बताए। उनले जनता र गणतन्त्रवादी दलहरूलाई कमजोर ठानेर इतिहास पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी पनि दिए।