काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुको आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् ।

‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक-पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ,’ प्रचण्डले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’

शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे । ‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन। हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ प्रचण्डले भने

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक(पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।