काठमाडौँ । अन्तर्राष्ट्रिय र स्थानीय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान बनाउँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक कारणले सुनको मूल्य उच्च बिन्दुमा पुगेको जानकारहरूको भनाई छ।

आज सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मङ्गलवार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अगाडि सोमबारका लागि प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँ निर्धारण गरेको थियो । गहना व्यवसायीले उपभोक्तालाई बिक्री गर्दा ज्याला–जर्ती, मुनाफालगायत जोड्छन् । मुनाफा र ज्याला–जर्ती पसल र गहनाको डिजाइनअनुसार लिन्छन् । महासंघले तोकेको मूल्यमा व्यवसायीले १२ देखि १८ प्रतिशत जोडेर बेच्छन् ।

‘महासंघले अन्तर्राष्ट्रिय बजारलाई आधार मानेर मूल्य निर्धारण गर्ने हो । अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा नयाँ–नयाँ कीर्तिमान बनेको छ। अन्तर्राष्ट्रिय बजारसँगै स्वदेशी बजारमा पनि कीर्तिमान बनेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्ने गर्दछ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, १० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ।