काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालमा रहेका वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफामा बढोत्तरी आएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा ३२.५५ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले गत आवको सोही अवधिसम्म २ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा कमाएकोमा चालू आवमा बढेर ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस वर्ष बैंकको आय आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज समेत घटेका कारण नाफा बढ्न टेवा पुगेको हो।

गत वर्ष बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब रुपैयाँ नाघेको छ भने खुद ब्याज आम्दानी पनि १ अर्बबढी रुपैयाँले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ।

साथै, बैंकको कुल सञ्चालन आम्दानी गत वर्ष ६ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज गत वर्ष ६३ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर २७ करोड रुपैयाँमा झरेको छ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहकोमा चालू आवमा बढेर ६ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ। साथै, बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) समेत २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

बैंकको जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ, रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ भने चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशत कायम भएको छ ।

एनआइसी एशिया बैंक

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख १९ हजार रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, चैत मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा भने ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोहि अवधिका उक्त नाफा ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घट्दा बैैंकको नाफा प्रभावित भएको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ ।

साथै, समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.९२ प्रतिशत पुगेको छ। चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.२४ प्रतिशतले बढी हो । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

गत आवमा बैंकको यस्तो नाफा १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने घटेर ७ अर्ब ८९ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ थियो ।

त्यस्तै, चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ छ । २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७६.१६ रुपैयाँ कायम रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षका तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्षको चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवमा बैंकको खुद नाफा झण्डै ६ प्रतिशतले वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेकाले खुद नाफा बढ्न मद्दत पुगेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर झण्डै साढे ६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै बैंकको कुल सञ्चालन आम्दानी पनि ७ अर्ब २० करोड रुपैयाँबाट बढेर ८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक सञ्चालन नाफा समेत ३ अर्ब २१ करोड रुपैयाँबाट बढेर साढे ३ अर्ब रुपैयाँ नाघेको छ । योसँगै गत वर्ष ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष भने १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा भने २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३१ करोड रुपैयाँ र रिजर्भ कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चिति रहेको छ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रति शेयर आम्दानी समेत वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी गत वर्ष १६ रुपैयाँ २७ पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ २३ पैसा पुगको छ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा भने ४९.२९ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा बैैंकको नाफा २ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा समेत गिरावट देखिएको छ । बैंकको सञ्चालन नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा घटेर १ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । कुल सञ्चालन आम्दानी समेत ६ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९७ करोड २२ लाख ६६ हजार रुपैयाँबाट घटेर ७ अर्ब १० करोड ४४ लाख ५८ हजार रुपैयाँमा पुगेको छ।

त्यस्तै, चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा बढेर ४।६९ प्रतिशत पुगेको छ । यता, बैंकको चुक्तापूँजी १५ अर्ब ६३ करोड र जगेडा कोष सञ्चिति ३७ अर्ब ४० करोड रहेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवमा बैंकको खुद नाफा सामान्य घटेको हो। बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको देखिएको छ ।

चालू आवमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोड रुपैयाँबाट बढेर २ अर्ब २१ करोड नाघेको छ। यद्यपि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने वृद्धि भएको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। यता सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।

यस अवधिमा बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

नबिल बैंक

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड८० लाख नाफा कमाएको थियो।

कम्पनीको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो। यता, बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँबाट बढेर २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने ४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत पुगेको छ।

साथै, समीक्षा अवधिमा बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २ अर्ब ४४ करोड ७१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनी सञ्चालन नाफा ५.३४ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त नाफा ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । कम्पनीको वितरणयोग्य नाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ४७ करोड १६ लाख र खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४४ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्ममा बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ४२ करोड रुपैयाँ छ । यता, बैंकको प्रतिशेयर आम्दानी ३४.६ रुपैयाँबाट घटेर २८.८६ रुपैयाँमा आएको छ ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थियो।

गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म बैंकको खुद नाफामा ७२.८५ प्रतिशतले घटेको हो। यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो।

गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज चालू आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालू आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आवमा साढे ६ अर्ब ऋणात्मक भएको छ। हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ।

गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चालू आवमा बढेर ६.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी झने ६.५० प्रतिशतले घटेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँबाट बढेर ६ अर्ब ६१करोड रुपैयाँ पुगेको छ । यता, कुल सञ्चालन आम्दानी ११ अर्ब ५९ करोड रुपैयाँमा रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ४.६६ प्रतिशतबाट बढेर ६.०६ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

हिमालयन बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म हिमालयन बैंक लिमिटेडले ५० करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत वर्षको यसै अवधिसम्म भने १ अर्ब ९४ करोड रुपैयाँबढी खुद नाफा गरेको थियो । चालू आवमा बैंकको खुद नाफा ७४ प्रतिशतले घटेको हो। यद्यपि बैंकको सञ्चालन नाफा गत वर्ष साढे ३ अर्ब रुपैयाँबढी रहेकोमा चालू आवमा बढेर ३ अर्ब ८१ करोड नाघेको छ।

वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी भने गत वर्ष ८ अर्ब ४३ करोड रुपैयाँ रहेकोेमा चालू आवमा घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ९ अर्ब १० करोड रुपैयाँमा झरेको छ।

साथै, चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ३६ करोड ऋणात्मक र रिजर्भमा २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ३३ अर्ब ५३ करोडबढी ऋण दिएको छ भने ३ खर्ब १ अर्ब १३ करोडबढी निक्षेप संकलन गरेको छ। बैंकको निष्क्रिय कर्जा ७.६८ प्रतिशत, प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०८ पैसा, प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ ।

कृषि विकास बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कृषि विकास बैंकको नाफामा सामान्य प्रभावित भएपनि अन्य सूचक सुधारउन्मुख देखिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा उक्त बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.१७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो । कम्पनीको सञ्चालन नाफा २ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

साथै, कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४।९८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँ र प्रतिशेयर खुद मुल्य २१७.७३ रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकले यस वर्षको चैत मसान्तसम्म २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो। गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा बैंकको खुद नाफा २२.५६ प्रतिशतले घटेको हो।

चालू आवमा बैंकको इम्पेयरमेन्ट चार्ज रकम बढेपछि खुद नाफामा समेत दबाब परेको हो। गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज साढे ८९ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ।

बैंकको खुद नाफा घटेपनि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानी भने बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ र कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँबाट बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

तथापी यस वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ। बैंकको लाभांश क्षमता भने १ अर्ब ७३ करोड रुपैयाँबढी रहेको छ। बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ र रिजर्भ कोषमा झण्डै पौने ११ अर्ब रुपैयाँ सञ्चिति रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७८ पैसाबाट घटेर १५ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ६३ पैसा रहेको छ। भने खराब कर्जा ५.६५ प्रतिशत रहेको छ ।

प्रभु बैंक 

प्रभु बैंकले प्रकाशन गरेको विवरण अनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा साढे ३ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत वर्षको चैत मसान्तसम्म १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ नाघेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी गत वर्ष ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँमा झरेको छ। यता बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँमा कायम भएको छ भने कुल सञ्चालन आम्दानी पनि १० अर्ब १९ करोडबाट घटेर ९ अर्ब ६१ करोडमा झरेको छ।

यस अवधिसम्म बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक र रिजर्भ कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। बैंकको खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा कायम भएको छ।

त्यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक हुँदा प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र निष्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको प्रकाशति वित्तिय विवरणमा उल्लेख छ ।