काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा नाफा २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड २१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ८ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा यसको नाफा सामान्य बढेको हो । सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०५ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ । वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ छ ।