काठमाडौँ । चिया नेपालीहरूको भान्सामा सबैभन्दा प्रयोगमा आउने मध्येको एक हो । बिहान होस् वा दिउसो , साँझ होस् वा भेटवार्ता सबै ठाउँमा चियाको भूमिका विशेष रहेको छ ।

आज २९औँ राष्ट्रिय चिया दिवस । देशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

सोही अवसरमा आज राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज पुल्चोकको हरिहर भवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया किसान, मजदुर, सहकारी, उद्योगी÷व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबिच छलफल गरिने बोर्डले जनाएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ । बोर्डले यस वर्ष चियाको निर्यात  चार अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ ।

नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्र रहेको बोर्डको भनाई छ ।  नेपालमा १५ हजारभन्दा धेरै चिया किसानहरू रहेका छन् ।