काठमाडौँ । वर्षायाम सुरु गराउने मौसम प्रणाली (मनसुन) यस वर्ष नेपालमा औसत मितिभन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको छ । मौसमविद्हरूका अनुसार यस पटक जुन १३ तारिखभन्दा अघि नै नेपालमा मनसुन प्रवेश गर्न लागेको हो ।
भारतको केरलामा यस वर्ष मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेको छ । त्यहाँ सामान्यतः मे ३० तारिखमा मात्रै मनसुन प्रवेश गर्ने गरेको छ । औसतभन्दा ६ दिनअघि नै केरलामा मनसुन प्रवेश गरेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार सूचना जारी गर्दै भनेको छ, “बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रमा साथै भारतको केरला आसपासका क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढने क्रममा छ।”
यसपटक भने औसत मितिभन्दा केही दिनअघि नै मनसुन नेपाल प्रवेश गर्ने संकेत देखिएपनि यस्सै हुन्छ भनेर ठोकुवा गर्न नसकिने महाशाखाले जनाएको छ ।
गत वर्ष पनि मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो। मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ। अहिले नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि-मनसुन चलिरहेको छ।
यसपटक पनि मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। तर यसमा पनि केही दिन घटबढ हुन्छ।






