काठमाडौं । एक सय किलो परिमाण बराबरको सुन तस्करीको अभियोगमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । राजस्व अनुसन्धान विभागको नेतृत्वमा खटेको टोलिले बिहीबार बेलुका थप दुईलाई पक्राउ गरेको हो ।
काठमाडौँको कोटेश्वरबाट राजन श्रेष्ठ पक्राउ परेका छन् भने अर्का अभियुक्त पुष्करराज भट्टलाई समेत काठमाडौंबाटै पक्राउ गरिएको विभागले जनाएको छ । भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् । अबैध सुन आयातमा संलग्न रेडी ट्रेडसँगको संलग्नता देखिएपछि विभागको टोलीले भट्टलाई पक्राउ गरेको हो । तर, श्रेष्ठको ठेगाना र संलग्नता भने विभागले खुलाएको छैन ।
असार ३० मा हङकङकबाट मोटरसाइकलको ब्रेक-सु र दारी काट्ने रेजरमा लुकाएर ल्याएको झन्डै १०० किलो बराबरको सुन भन्सार कट्ने बित्तिकै विशेष सुराकीको आधारमा विभागको टोलीले बरामद गरेको थियो । उक्त सुनसँगै भन्सार ऐजेन्ट, सुन बोक्ने भरीया, ट्याक्सी चालक र अर्को एकजनालाई सोही स्थानबाट पक्राउ गरिएको थियो ।
सामान आयात गर्ने रेडी ट्रेड प्रा.लिका सञ्चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतिय नागरिक थाप्तेन छिरिङ छन् ।