पछिल्ला वर्षहरुको तुलनामा माछापुच्छ्रे बैंकले गत वर्ष निकै राम्रो र उत्कृष्ट वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । ५ वर्षको तुलना गरेर हेर्दा यस बैंकले २०८१-८२ मा उत्कृष्ट रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार बैंकको अधिकांस वित्तीय सूचकहरुमा सुधार आएको छ ।

गत वर्षको अन्तिमत्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९२ प्रतिशतले बढेर २ अर्ब १ करोड कायम भएको छ । इम्पेयरमेन्ट चार्ज घटेको छ भने ब्याज आम्दानी पनि बढेको छ । त्यसैले बैंकको खुद मुनाफा बढेको देखिन्छ ।

नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । ८.९९ रुपैयाँ रहेको उक्त आम्दानी बढेर १७.३१ पुगेको छ । रिटन अन इक्विटी (आरओई) बढेर ११.१३ प्रतिशत पुगेको छ । बेस रेट ६.३० प्रतिशत छ ।

कस्ट अफ फन्ड ४.२३ प्रतिशत, एनपीएल ३.८३ प्रतिशत छ । तुलनात्मक रुपमा यस बैंकको एनपीएल अरु बैंकहरुको भन्दा कम नै छ । खराब कर्जा बढ्दा अहिले धेरै बैंकहरुको एनपीएल ५ प्रतिशत आसपास देखिन्छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सञ्चित कोषमा १ अर्ब ७ करोड छ भने जगेडा कोषमा ६ अर्ब ३१ करोड रुपैयाँ छ । उक्त सञ्चित कोषबाट यस बैंकले ९.२३ प्रतिशत लाभांश दिने सक्ने क्षमता राखेको छ ।

लाभांश क्षमता भएको हुँदा यस पटक शेयरधनीको हात खाली नहुने सम्भावना छ । यद्दपि, यसका लागि राष्ट्र बैंकले तोकेअनुसार विभिन्न सर्तहरु पूरा गर्नु पर्ने हुन्छ । जस्तै, पुँजी पर्याप्तता कायम हुनु पर्यो, एनपीएल ५ प्रतिशत भन्दा कम हुन पर्यो । यस्ता केही शर्तहरु पूरा भएको खन्डमा बैंकले लाभांश दिन सक्ने देखिन्छ ।

चुक्ता पुँजी, जगेडा कोष र सञ्चित नाफा

माछापुच्छ्रे बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ बराबर रहेको छ । बैंकको पुँजी आव २०७७-७८ अर्थात, ५ वर्ष अगाडि ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ थियो । पुँजीसँगै बैंकको जगेडा कोषको आकार पनि बढेको छ । २०७७-७८ मा २ अर्ब ५० करोड रुपैयाँ जगेडा रहेको बैंकको उक्त कोषमा अहिले ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हरेक वर्षजस्तो बैंकको जगेडा बढेको छ ।

यता, सञ्चित नाफा १ अर्ब ७ करोड कायम भएको छ । अघिल्लो वर्षको उक्त नाफा ऋणात्मक थियो । त्यसैले बैंकले लाभांश दिन मिलेको थिएन । तर, अहिले उक्त कोषमा १ अर्ब भन्दा धेरै रकम छ । यस वर्षको नाफाबाट बैंकले लाभांश दिने सम्भावना छ । लाभांश क्षमता पनि ९ प्रतिशत देखिएको छ ।

निक्षेप र कर्जा

५ वर्ष अगाडि १ खर्ब ३१ अर्ब रुपैयाँ रहेको निक्षेक संकलन अहिले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ । बैंकको निक्षेपसँगै कर्जा परिचालन पनि बढेको छ । बैंकको कर्जा परिचालन बढेर १ खर्ब ४१ अर्ब पुगेको छ । शाखा विस्तार र ग्राहकको विश्वासले गर्दा कम्पनीलाई यसरी कर्जा विस्तार र निक्षेप संकलन बढाएको छ ।

खुद ब्याज आम्दानी र खुद नाफा

माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४ अर्ब ९८ करोड ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको छ । बैंकको खुद नाफा करिब २ गुणाले बढेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो अहिले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्रतिशेयर आम्दानी र बुक भ्याल्यू

माछापुच्छ्रे बैंकको प्रतिशेयर आम्दानी १७.३१ रुपैयाँ छ । सातै, असारसम्ममा यस कम्पनीको नेटवर्थ १६३.८० रुपैयाँ छ । नाफा बढेसँगै बैंकको इपीएसमा पनि बढेको हो । नेटवर्थ पनि बढेको छ ।

लाभांश इतिहास

माछापुच्छ्रे बैंकले आव २०७९-८० मा १४ प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, २०७७-२०७८ मा यस बैंकले १०.४ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले पछिल्लो ९ आर्थिक वर्षमा १० प्रतिशत भन्दा धेरै लाभांश दिएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड सन् १९९८ मा दर्ता भएको थियो र नेपालका पश्चिमी क्षेत्रबाट पहिलो क्षेत्रीय वाणिज्यिक बैंकको रुपमा स्थापना भएको हो । बैंकले सन् २००० देखि पोखराबाट आफ्नो बैंकिङ सञ्चालन सुरु गरेको थियो ।

बैंकको वित्तीय पारदर्शिता र गुणस्तरीय सेवा प्रतिबद्धता त्यसको पुरस्कार र सम्मानबाट पनि प्रमाणित हुन्छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकलाई “नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट” अवार्ड प्रदान गरेको छ। यसले माछापुच्छ्रे बैंकले आफ्नो वित्तीय रिपोर्टिंग र सञ्चालनमा उच्च स्तरको पारदर्शिता कायम राखेको प्रमाणित गर्दछ ।

साथै बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट समेत सम्मानित भएको छ । बैंकले उक्त अवार्ड डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई पूरा गर्न उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ र यसमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक अभ्यासहरु समावेश छन् । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँछ । बैंकले आफ्ना धेरै कार्यालयहरु मार्फत ३६५ दिन बैंकिङसाँझ काउन्टर सेवा पनि उपलब्ध गराउँदै आएको छ । हाल, बैंकको १६५ शाखा कार्यालय, ८८ शाखारहित बैंकिङ युनिट, ११ एक्सटेन्सन काउन्टर र २०३ एटीएमहरु नेपालभर फैलिएका छन् ।