काठमाडौँ । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको मर्जरपछि सन् २०२२ अक्टोबरबाट एकीकृत कारोबार सुरु गरेको सानिमा जिआईसीले छोटो समयमै बीमा क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
बीमा क्षेत्रमा सानिमा जिआईसी तीव्र गतिमा उभिइरहेको कम्पनीको रुपमा चिनिँएको छ । शेयरधनीलाई उच्च प्रतिफल र सेवाग्राहिलाई सहजिकरण गरेर सेवा दिंदै आफ्नो व्यापार विस्तारमा पनि संस्था आक्रामक देखिएको छ ।
बीमाको वित्तीय अवस्थामा पनि व्यापक सुधार भएको छ । मर्जरपछि संस्था थप मजबुत र सबल भएको वित्तीय रिपोर्टले पनि पुष्टि गर्छ । बीमा क्षेत्रमा नयाँ भएपनि कम्पनीले छोटो अवधिमा विश्वसनीयता, पारदर्शिता र द्रुत दावी भुक्तानी प्रक्रियाका कारण ग्राहकबीच लोकप्रियता हासिल गरेको छ ।
कम्पनीले हाल मोटर, आगलागी तथा सम्पत्ति, स्वास्थ्य, कृषि तथा पशुपालनसहितका विभिन्न बीमा प्रोडक्ट बजारमा ल्याएको छ । २ अर्ब १५ करोड रुपैयाँ बराबरको पूँजी रहेको सानिमा जिआईसीको सञ्चित नाफा १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । यता, गत वर्ष कम्पनीले ७८ करोड ७४ लाख खुद बीमा शुल्क संकलन गरेको छ ।
कमिसनबाट हुने आम्दानी ३९ करोड ३५ लाख कायम भएको छ । कम्पनीले गत वर्ष ३८ करोड ७० लाख दावी भुक्तानी गरेको छ । साउनसम्म आइपुग्दा प्रतिशेयर आम्दानी १६.३० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारीमा छ ।
चुक्ता पूँजी, सञ्चित नाफा र लगानी
सानिमा जिआईसीको चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्ष कम्पनीको पूँजी २ अर्ब रुपैयाँ बराबर रहेको थियो । सञ्चित नाफा १८ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीले बीमा प्राधिकरणले तोके अनुसारको पूँजी वृद्धि गर्नका लागि १७ प्रतिशत हकप्रद प्रस्ताव गरेको छ । हकप्रदपछि पूँजी साढे २ अर्ब भन्दा धेरै पुग्नेछ । यस कम्पनीले असारसम्म ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । ३ वर्ष अगाडि कम्पनीको लगानी २ अर्ब ९३ करोड थियो ।

बीमा कोष, कुल र खुद बीमा शुल्क संकलन
सानिमा जिआईसीको कुल बीमा शुल्क संकलन २ अर्ब ५४ करोड पुगेको छ । यो अघिल्लो वर्षको भन्दा धेरै हो । अघिल्लो वर्ष बीमाले २ अर्ब ५१ करोड कुल बीमा शुल्क संकलन गरेको थियो । खुद बीमा शुल्क संकलन भने ७८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । ३ वर्ष अगाडि उक्त शुल्क संकलन ५५ करोड ५७ लाख रुपैयाँ थियो । बीमा कोषमा ४ अर्ब रुपैयाँ भन्दा धेरै रकम छ ।

लगानी तथा कर्जाबाट हुने आम्दानी र नाफा
सानिमा जिआईसीले गत वर्षको असारसम्म ३५ करोड ३ लाख नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको भन्दा धेरै हो । अघिल्लो वर्ष संस्थाले ३१ करोड ८१ लाख नाफा कमाएको थियो । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी भने घटेको छ । उक्त आम्दानी १७ करोड १ लाख कायम भएको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थ
सानिमा जिआईसीको प्रतिशेयर आम्दानी १६.३० रुपैयाँ छ । यो अघिल्लो वर्षको भन्दा धेरै हो । साथै, यस बीमाको प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ छ । पछिल्लो ३ वर्षमा कम्पनीको नेटवर्थमा सुधार आएको छ ।

सानिमा जिआईसीले बीमा सेवा छिटो, सरल र पारदर्शी रुपमा उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकमैत्री सेवा विस्तार गर्ने योजनासमेत अघि बढाइएको छ ।
मार्जरपछि बनेको सानिमा जिआईसी अहिले ४०० भन्दा बढी कर्मचारी र ५० भन्दा बढी शाखासहित नेपालभर सेवा विस्तार गरिरहेको कम्पनीले जनाएको छ । संस्थाले आफ्नो सेवा गुणस्तरलाई अझ सुदृढ बनाउँदै ग्राहक, लगानीकर्ता तथा नियामक निकायहरुलाई दिएको वाचा पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।








