काठमाडौँ । आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झैँ कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरिन्छ।

विभिन्न कलकारखानामा भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा गरी दिवस मनाउने परम्परा रहिआएको छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई सहभागी गराइन्छ। बालुवा वा अन्य सामग्रीबाट बनेका मूर्तिलाई बागमती मुहान सुन्दरीजल वा अन्य पवित्रस्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरेर बिहीबारदेखि मूर्ति नदीमा विसर्जन गर्ने चलन छ।

धार्मिक विश्वास अनुसार आजका दिन प्रयोग गरिने औजारमा पूजा गर्दा ती लामो समयसम्म टिक्ने, बिग्रन नखोज्ने र राम्रो काम गर्ने गुण प्राप्त हुन्छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिँदा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित गरेको विश्वास गरिन्छ । एकै रातमा समुद्रको बीचमा नगर निर्माण गरेकाले विश्वकर्मा सफल वास्तुविद् मानिन्छन् र त्यसै समयदेखि उनको पूजा गर्ने परम्परा बस्यो।

भारतको गुजरातमा समुद्रबीच रहेको ‘भेद द्वारका’ अहिले पनि विश्वकर्माको अद्वितीय वास्तुकला प्रमाणका रूपमा मानिन्छ। यही सम्झनामा कालीगढहरूले आज भव्य रूपमा विश्वकर्माको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यस दिन इञ्जिन जडान भएका सवारीसाधन र विभिन्न मेसिनरी उपकरणमा पनि पूजा गर्ने प्रचलन छ।

वास्तुविद्हरूका अनुसार आजको दिनलाई वास्तु दिवसका रूपमा पनि मनाइन्छ। हालै नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा उल्लेखित वास्तु शास्त्रलाई आधार मानी आधुनिक सहर र आवास निर्माणमा चासो बढ्दै गएको छ। यसले नेपालमा वास्तु विद्याको महत्व अझै बढाएको छ।