काठमाडौँ । दशैं सुरु भएपछि नेपालभरि बज्ने एउटा विशेष धुन छ । जसलाई सुन्दा मात्र पनि उत्सवको वातावरण महसुस हुन्छ। त्यो धुन हो– मालश्री धुन। वैदिककालीन संगीत परम्पराबाट आएको मानिने यो धुनलाई नेपाली समाजले दशैं–तिहारसँग गहिरो रूपमा जोडेको छ। विगत धेरै शताब्दीदेखि दरबारदेखि देउरा–मन्दिर, गाउँघरदेखि शहरसम्म बज्दै आएको मालश्री धुन आज पनि नेपाली सांगीतिक संस्कृति र धार्मिक विश्वासको अद्वितीय प्रतीक बनेको छ।
मालश्री धुनलाई दशैंको धुन पनि भनिन्छ। यसलाई सुन्नासाथ मानिसलाई देवी पूजा, जमरा, टीका र फूलपातीको सम्झना आउँछ। काठमाडौं उपत्यकामा दरबारका गुठी बाजागाजा समूहहरूले विशेषगरी फूलपातीका दिनदेखि सुरु गरी कोजाग्रत पूर्णिमासम्म मालश्री धुन बजाउने परम्परा रहँदै आएको छ।
मालश्री धुनको इतिहासलाई हेर्दा यसलाई नेपालमात्र नभई सम्पूर्ण दक्षिण एशियाली संस्कृतिसँग जोडिएको पाइन्छ। यो मूलतः वैदिक मन्त्र र राग प्रणालीमा आधारित छ भन्ने संगीतविद्हरूको मत छ। लय र तालमा धार्मिक शुद्धता समेटिएको यस धुनलाई पशुपतिनाथ, तलेजु, कुमारी जस्ता देवीदेवताहरूको पूजा आराधनामा बजाइने गरिन्थ्यो।
लिच्छवी कालदेखि नै गुठी प्रथासँगै यस धुनलाई संरक्षण गरिएको मानिन्छ। विशेषगरी दरबार क्षेत्रमा यो धुनको विशेष महत्त्व थियो। राजदरबारका पूजा–अर्चनामा अनिवार्य रूपमा मालश्री धुन बजाइन्थ्यो। त्यसैकारण आज पनि दरबार क्षेत्रका गुठी बाजागाजामा यसको निरन्तरता देखिन्छ।
संगीतको दृष्टिकोणले हेर्दा मालश्री धुनलाई ध्रुपद शैलीमा बजाइन्छ। यसको लय ढिलो, शान्त र गम्भीर हुन्छ। बाजागाजामा धिमे, नगारा, तामाको, शहना, बांसुरी, झ्याली, आदि वाद्य प्रयोग गरिन्छ। धुनको ताल यति मधुर हुन्छ कि यसले आन्तरिक शान्ति र भक्ति भाव जगाउँछ। यही कारण यसलाई देवी शक्तिको आराधनामा विशेष स्थान दिइएको छ।
मालश्री धुनलाई वैदिक कालीन सामगानको रूपान्तरण पनि मान्ने गरेको पाइन्छ । यसले दशैंलाई मात्र नभई नेपाली संगीत परम्परालाई पनि जोगाएर राखेको छ।
दशैंसँगको सम्बन्ध
दशैंलाई देवी दुर्गाको उत्सव मानिन्छ। मालश्री धुनलाई देवीको शक्ति, विजय र कृपाको प्रतीक स्वरूप बजाइन्छ। काठमाडौं उपत्यकामा फूलपातीका दिनदेखि नै गुठीका बाजा समूहले नगर परिक्रमा गर्दै धुन बजाउने चलन छ। यसरी बज्दा सम्पूर्ण शहर उत्सवमय हुन्छ।
धेरैलाई दशैंको सुरुवात नै मालश्री धुन सुनेपछि मात्र भएको अनुभूति हुन्छ। गाउँघरमा पनि स्थानीय बाजागाजाले यो धुनलाई अपनाएर आफ्नै शैलीमा बजाउने गरेका छन्। यसरी हेर्दा मालश्री धुन दशैंको ‘साउन्डट्र्याक’ जस्तै बनेको छ।
वर्तमानमा संरक्षण र चुनौती
आजको आधुनिक युगमा नयाँ शैलीका गीत–संगीत, डीजे, पप र रक संगीतले युवापुस्तालाई बढी आकर्षित गरिरहेको छ। तर मालश्री धुन अझै पनि जीवित छ, गुठी प्रणाली र सांगीतिक समुदायका कारण। कतिपय विद्यालय र संगीत प्रतिष्ठानले यसलाई पाठ्यक्रममा पनि समावेश गरेका छन्।
तर, यसको संरक्षण भने चुनौतीपूर्ण बनेको छ। गुठी संस्कृतिको क्षय, नयाँ पुस्तामा परम्परागत बाजा सिक्ने चासो कम हुनु र धार्मिक पर्वमा आधुनिकताको बढी प्रभाव पर्नु मालश्री धुनको भविष्यका लागि चिन्ताको विषय बनेका छन्।
मालश्री धुन केवल धुन मात्र नभएर हाम्रो राष्ट्रिय धरोहर हो। यसमा हाम्रो धार्मिक आस्था, ऐतिहासिक स्मृति, र सांगीतिक मौलिकता सबै मिसिएको छ।
यही कारण नेपाल प्रज्ञा–प्रतिष्ठान, गुठी संस्था, र संगीतकर्मीहरूले यसको संरक्षण र प्रचारप्रसारका लागि विशेष कार्यक्रम गर्ने गरेका छन्। दशैं–तिहारमा राष्ट्रिय रेडियो र टेलिभिजनमा मालश्री धुन बजाउनुले पनि यसको राष्ट्रिय महत्त्वलाई जनाउँछ।






