काठमाडौँ । नेपालको चाडपर्वहरूमध्ये दशैंको छुट्टै महत्त्व छ। यस पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले नेपालीहरूले विशेष मान्छन्। टीका, जमरा, देवीको पूजा र आशीर्वादसँगै दशैंको अर्को परिचय भनेको परिवार र साथीभाइबीच हुने मेलमिलाप हो। त्यस मेलमिलापलाई अझै रमाइलो बनाउने एउटा चलन हो, तास खेल्ने परम्परा। दशैं आयो भने घर–घरमा तासका पत्ताहरू फिँजिने दृश्य सामान्य देखिन्छ मानौं यो पर्व तासबिनै अधूरो हुन्छ।

तासको इतिहास निकै पुरानो छ। चीनमा इस्वी संवत् सातौं शताब्दीमा ताङ वंशकालमा तास खेल सुरु भएको अनुमान गरिन्छ। त्यस समयमा कागजका पत्ते प्रयोग गरेर खेलिने खेललाई नै आधुनिक तासको आरम्भ मानिन्छ। व्यापार र सांस्कृतिक सम्पर्कमार्फत यो खेल भारत, मध्यपूर्व हुँदै युरोप पुगेको थियो। मिस्रमा तासको प्रतीकमा कप, तलवार, सिक्का र पोलो स्टिक जस्ता आकृति हुन्थे, जुन पछि युरोपमा गएर हृदय, इट्टा, पान र स्पेडमा परिणत भए। चौधौं शताब्दीमा युरोपमा तास व्यापक भयो र अन्ततः विश्वभर फैलियो।

नेपालमा तास कहिले र कसरी आयात भयो भन्ने ठ्याक्कै तथ्याङ्क नभए पनि भारतमार्फत आएको अनुमान गर्न सकिन्छ। भारतमा बेलायती शासनकालमा तास लोकप्रिय भएको र त्यसैको प्रभाव नेपालमा समेत देखिएको हो। दशैं जस्तो लामो र रमाइलो चाडमा परिवारसँग समय बिताउने साधनको रूपमा तास सहजै लोकप्रिय भयो। त्यसैले दशैंसँग तासको सम्बन्ध गहिरो छ।

दशैंमा तास खेल्नु केवल मनोरञ्जन मात्र होइन, परिवार र साथीभाइबीच सम्बन्ध सुदृढ गर्ने एक अवसर पनि हो। गाउँघरका चौतारोमा होस् वा शहरका घरभित्र, मानिसहरू तास खेल्दै हाँसोठट्टा गर्छन्। कतिपयले तासलाई परम्परागत मनोरञ्जनको माध्यमका रूपमा लिन्छन्। लामो समय विदेश वा सहरमा बस्ने सदस्य दशैंमा घर फर्किन्छन् र तास खेलेर परिवारसँग बिताएका पलहरू यादगार बन्छन्।

तर ताससँग केही विवाद पनि जोडिएका छन्। दशैंमा तास खेल्ने नाममा कतिपयले ठूलो दाउमा पैसा राखेर जुवा खेल्छन्। यसरी जुवा चल्दा कतिपय परिवारमा झगडा हुने, ऋण बढ्ने वा आर्थिक समस्या चुलिने जस्ता नकारात्मक परिणाम देखिन्छन्। त्यसैले कतिपयले तासलाई सामाजिक समस्या बढाउने साधन पनि ठान्छन्। तर अरू धेरैलाई भने तास दशैंको रमाइलोको अर्को स्वरूप हो, जसलाई मनोरञ्जन र मेलमिलापका रूपमा बुझ्नुपर्छ।

ताससँग जोडिएको अर्को रोचक पक्ष यसको व्यापार र आयात हो। नेपालले हरेक वर्ष करोडौं रुपैयाँ बराबरको तास विदेशबाट आयात गर्छ। भन्सार विभागका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालले कुल रु. २१ करोड २७ लाख मूल्य बराबरको तास आयात गरेको थियो। यसमध्ये चीनबाट रु. १८ करोड ७६ लाख, भारतबाट रु. २ करोड १५ लाख र ब्राजिलबाट रु ३५ लाखको तास आएको थियो। तर यसभन्दा अझै ठूलो तथ्याङ्क पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा देखियो। नेपालले यो अवधिमा रु. ३२ करोड १८ लाख बराबरको तास आयात गर्‍यो। यसमा चीनबाट मात्रै रु. २८ करोड २३ लाख र भारतबाट रु. २ करोड ६८ लाख बराबरको तास आयात भएको थियो। सानो मात्रामा भए पनि अमेरिकाबाट र स्पेनबाट समेत तास भित्रिएको तथ्याङ्क भन्सार विभागसँग छ ।

यी तथ्याङ्कले के देखाउँछन् भने नेपालमा तासको माग वर्षेनी बढ्दै गएको छ । विशेष गरी दशैं जस्ता चाडपर्वमा यसको माग उच्च हुने भएकाले बजारमा विदेशी तासको भरपर्दो आपूर्ति गर्नुपर्ने बाध्यता छ। चीन र भारत प्रमुख आपूर्तिकर्ता भए पनि अन्य मुलुकबाट पनि तास आयात सुरु भएकोले यसको व्यापारिक दायरासमेत विस्तार हुँदै गएको छ।

यसरी हेर्दा नेपालमा तासको ठूलो बजार छ जसलाई स्थानीय उत्पादनले धान्न सकेको छैन। गुणस्तर, डिजाइन र प्रतिस्पर्धात्मक मूल्यमा विदेशी तास अझै अग्रपंक्तिमा छन्। यद्यपि, भविष्यमा नेपालमै गुणस्तरीय तास उत्पादन गर्ने हो भने आयातमा निर्भरता घटाउन सकिन्छ र ठूलो बजार कब्जा गर्न सकिन्छ।

दशैंमा तासको संस्कृतिले एउटा रोचक मनोविज्ञान पनि बोकेको छ। पूजा सकेपछि घरभित्र वा आँगनमा भेला भएर तास खेल्ने दृश्य अझै पनि नेपाली समाजमा जीवित छ। नयाँ पुस्ताले मोबाइल गेम्स वा अनलाइन मनोरञ्जन रोजे पनि दशैंको समयमा तासको आकर्षण घटेको छैन।

तासको प्रयोगलाई जिम्मेवार रूपमा मनोरञ्जन र मेलमिलापका लागि सीमित राख्न सके यसले सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउनेछ। त्यसमाथि, तासको आयातमा हुने करोडौंको कारोबारलाई ध्यानमा राख्दै भविष्यमा स्वदेशी उत्पादनतर्फ पनि गम्भीर सोच आवश्यक देखिन्छ। दशैं र तासको सम्बन्ध नेपालीको जीवनशैलीमा यति गहिरो छ कि पर्व आयो भने तासको याद अनिवार्य रूपमा दिमागमा आउँछ।