काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं–तिहारको अवसरमा शिक्षकलाई तलब नदिने विद्यालय तथा पालिकामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शिक्षकहरूले समयमा तलब नपाएको गुनासो गरेपछि मन्त्री पुनले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयबाट रकम पठाइसकेपछि पनि तलब रोक्ने पालिका र विद्यालय जिम्मेवार हुने स्पष्ट पारेका हुन्।
‘मन्त्रालयबाट पैसा गएको छ, तर पालिकाले शिक्षकलाई तलब निकासा नगरेको भन्ने गुनासो आएको छ। यस्तो नाजायज व्यवहार सह्य हुने छैन। भोलिसम्ममा तलब निकासा नगरे कारबाही हुन्छ,’ मन्त्री पुनले चेतावनी दिएका छन्।
उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समेत अन्यायपूर्ण ढंगले तलब रोकेको भन्दै यस्ता कार्यलाई कुनै हालतमा बर्दाश्त नगर्ने स्पष्ट गरे। ‘भोलिसम्ममा शिक्षकले तलब पाउनै पर्छ। ढिलासुस्ती गर्ने प्रधानाध्यापक वा समिति सदस्यमाथि समेत कानुनी कारबाही हुन्छ,’ मन्त्री पुनले भने।







