काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् । पूर्वसभामुख सापकोटाले प्रयोग गर्दै आएको सरकारी गाडी बुधबार फिर्ता गरेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न भन्दै पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न भनेको थियो ।
सोही अनुसार पूर्वसभामुख सापकोटाले बुधबार संघीय संसदलाई गाडी बुझाएका सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।
यसअघि पूर्वसभामुखद्वय ओनसरी घर्ती र कृष्णबहादुर महरा पनि गाडी फिर्ता गरेका थिए । यस्तै राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन् ।
अब पूर्वसभामुख तारानाथ रानाभाटले मात्र सरकारी गाडी फिर्ता गर्न बाँकी छ ।